Tue. Dec 3rd, 2024

फरक फूल

दीपेन्द्र सिंह थापा –
dipendra
पहाडको उचाइमा फुल्ने
फूल हुनुको अर्थमा
उसको सौन्दर्यको उचाइ बेग्लै छ
उसको सुगन्धको फैलाइ बेग्लै छ।

यो होइन –
कुनै दिन उसलाई
झरीले झपार्दै झपारेन
हुरीले हिर्काउँदै हिर्काएन
यो पनि होइन –
ग्रीष्ममा गलाएन गर्मीले
ठिहीमा तड्पाएन तुसारोले।

मान्दिनँ म –
अतिशय यस्तो आकर्षणलाई
पराउँदै पराएन मन कसैले
र, लुछ्दै लुछेन हाँगाहाँगामा कहिल्यै
ठान्दिनँ म –
सौन्दर्यको यस्तो सत्यलाई
गर्न मात्र प्रेम निस्किरहे सबै नै
र, पु-याइरहे
मात्र जल जराजरामा सधैँ नै।

उपल्लो उच्चतामा फुल्ने
फूल हुनुको अर्थमा
उसको परिचय
सबै सबै पृथक छ
सधैँ सधैँ प्राकृतिक छ।

(नव प्रज्ञापनु साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६९ मा प्रकाशित)

About The Author

अन्य समाचारहरु: