धादिङ : पत्रकार राजेन्द्र प्रताप शाहको निधन भएको छ । बुधबार साँझ छोरीलाई होस्टलमा लिन जाने क्रममा प्रेशर लो भएर बाटोमा नै ढलेका शाहको उपचारको क्रममा अल्का अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा जन्मिएका शाह परिवारसहित काठमाडौँमा बस्दै आइरहेका थिए । शाहले आखाँ, दम र प्रेशरको समेत उपचार गराइरहेका थिए । विस. २०१८ साल बैशाख २९ गते जन्मिएका शाहका श्रीमती र एक छोरी छन् ।
शाह नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष हुन् । कम्प्यूनिष्ट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका शाह पछि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । शाह साविकको मैदी गाविसको पूर्व उपाध्यक्ष, जिल्ला विकास समितिको पूर्व सदस्य, प्रेस युनियन धादिङको पूर्व सचिव, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, छलफल चौतारीका पूर्व संस्थापक अध्यक्ष समेत थिए ।
शाहले नेपाल पत्रकार महासंघ धादिङले आफ्ना संस्थापक अध्यक्ष स्व. सीताराम प्रसाद बर्माको स्मृतिमा स्थापना गरेको सीताराम प्रसाद बर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार, रिर्पोटस क्लबले प्रदान गरेको सहिद जगत प्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार लगायत एक दर्जन भन्दा बढ पुरस्कार समेत पाएका थिए ।
शाहको निधनमा नेपाल पत्रकार महासंघ धादिङ, प्रेस युनियन धादिङ, धादिङ मिडिया नेटवर्क प्रालि लगायतले दुख व्यक्त गरेको छ ।