धादिङ– नीलकण्ठ नगरपालिकाले ५ बर्षमा गरेको नीति कार्यक्रमको समीक्षा गरेको छ । नगरपालिकाले दशौं नगरसभा समेत सम्पन्न गरेको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले निर्वाचित भएपछि भएका कामहरूको प्रतिवेदन प्रस्तुत गरेका छन् । शहरी विकास, सडक, खानेपानी, विपद् व्यवस्थापन, स्वास्थ्य तथा संस्थागत विकासका क्षेत्रमा नगरपालिकाको नियमित बजेट भन्दा बढि बजेट जुटाएर काम गरेको नगर प्रमुख ढुंगानाले बताए ।
नगरपालिकाले महत्वोपुर्ण उपलब्धिमा वडा कार्यलयहरुसम्म पुग्ने सडक, नगर चक्रपथको ट्रयाक, पक्की पुलहरु रहेको उल्लेख गरेको छ ।
चालु आर्थिक वर्षबाट नै फोहारमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य प्रारम्भ हुने, ९५ प्रतिशत भन्दा बढि विद्यालयहरुको पुननिर्माण पुरा गरिएको र नीलकण्ठ नगर औद्योगिक ग्रामको स्थापनालाई पनि उपलब्धिको रुपमा राखेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्ने स्थानीय तहहरु मध्येमा नीलकण्ठ नगरपालिकालाई उत्कृष्ठ स्थानीय तहको रुपमा घोषणा समेत गरेको छ ।
त्यस्तै उपप्रमुख मनराज भण्डारीले आर्थिक बर्ष २०७८/०७९ को संसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।