धादिङ – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन पहिलो भए। उनले ३५ मिनेट १२।७९ सकेन्डमा दौड पूरा गरे। उक्त स्पर्धाको महिलामा सिन्धुपाल्चोककी नितु तामाङ ४५ मिनेट १६।३ सेकेन्ड समयसाथ पहिलो भइन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष १ हजार ५ समय मिटर दौडमा ४ मिनेट २१।२ सेकेन्ड समय निकाल्दै ललितपुरका विकेश घिमिरेले स्वर्ण हात पारे। सोही स्पर्धाको महिलामा रामेछापकी निर्मली माझी पहिलो भइन्। निर्मलीले ५ मिनेट ५५।७ सेकेन्ड समय खर्चिन्।
सटपुटको पुरुषमा चितवनका ललित राउत तथा महिलामा सिन्धुलीकी प्रमिला माझीले शीर्ष स्थान हात पारे। ललितले १०।५६ मिटर तथा प्रमिलाले ८।१० मिटर फाले। पुरुष १ सय मिटर दौडमा मकवानपुरका गौरव मोक्तानले स्वर्ण जिते। उनले निर्धारित दूरी पूरा गर्न ११।५८ सेकेन्ड समय लगाए। त्यही स्पर्धाको महिलामा १३।१४ सेकेन्ड समय खर्चेकी ललितपुरकी लुजला अमात्य पहिलो भइन्।
हाइजम्पको पुरुषमा सिन्धुलीका रोशनकुमार दनुवार तथा महिलामा चितवनकी मीना कुमालले बाजी मारे। रोशनले १।७२ मिटर तथा मीनाले १।३० मिटर उचाईं नाघे। पुरुष ४ सय मिटर दौडमा चितवनका अमृत बोट पहिलो भए। उनले ५३।२८ सेकेन्डमा दौड सकाए। उक्त स्पर्धाको महिलामा ललितपुरकी रोजिना दुलाल पहिलो बनिन्। रोजिनाले १ मिनेट ०६।६६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।
यसैगरी प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि मकवानपुरले जितेको छ। हेटौंडाको पिप्लेस्थित क्याम्पडाँडा रंगशालामा आइतबार भएको फाइनलमा मकवानपुरले ललितपुरलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो। मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए। मकवानपुरकै समिरराज थोकर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। चैत २९ गतेदेखि सुरु फुटबलमा १३ जिल्लाले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।