डोटी – हिमाली जिल्लामा बसोबास गर्ने प्रायजसो भेडापालन व्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीका विभिन्न ठाउँमा झर्ने गरेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायीहरु चिसो मौसम सुरु हुन थालेसँगै छिमेकी जिल्ला डोटीका विभिन्न फाँटहरुमा बसाइँ सरेका हुन् ।
अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो मौसम छिचोल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका–९ बाजुरा कोल्टीका चन्द बोगटीले आफ्नो रोजगारी र आयआर्जनको श्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन डोटीका फाँटमा झरेको बताउनुभयो ।
बोगटीसँग अहिले ६० देखि ७० वटासम्म भेडा छन् । चन्द्र बोगटीसहित तीन घर परिवार एक हप्तादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका–७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आउनु भएको छ । उहाँहरु डोटीमा फागुन महिनासम्म बस्ने बताउनु हुन्छ । चार वर्षदेखि यही ठाउँमा बस्दै आएको उहाँहरुले बताउनुभयो ।
बुढीनन्द नगरपालिका–९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भेडा पालन गर्नु आफ्नो मुख्य पेसा भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘अन्य रोजगारी छैन्, भारत गएर कमाउन सक्दिनँ, हाम्रो पेसा, व्यववसाय भनेको यही नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको हो त्यसैलाई हामीले निरन्तरता दिएका हौँ ।’ त्यही ठाउँमा डेरा सरेर आएका भेडा व्यवसायी बुढीनन्दा नगरपालिका–९ का शिवा गुरुङसँग भने भेडा पालनको छुट्टै अनुभव छ । उहाँ सुरुमा अरुका भेडाको गोठालो भएर काम गर्ने गर्नु हुन्थ्यो ।
त्यसपछि पछि उहाँले बिस्तारै आफैँ व्यवसायी रुपमा भेडा सुरु गर्दै आउनु भएको हो । उहाँले भन्नुभयो, ‘के गर्नु सुरुमा धेरै वर्ष अरुकै भेडाको गोठालो भइँयो, अहिले कसैका काठमाण्डौ, कसैका धनगढी, नेपालगञ्ज घर छन् आफ्नो भने यही जिन्दगी छ, आफूले पनि भेडा पाले केही कमाउन थालेको छु ।’ उहाँ अहिले उमेरले ४९ वर्षका हुनुभयो । उहाँले आफू पाँच वर्षको हुँदादेखि नै अरुकै भेडा हेर्ने काम गरेको सुनाउनुभयो । अहिले शिवासँग एक सयभन्दा बढी भेडाहरु रहेका छन् । उहाँ एक छोरा र श्रीमतीसहित भेडासँगै आउनु भएको छ । उहाँले भेडाबाट वार्षिक रुपमा ६ देखि ७ लाख आम्दानी गर्ने गरेको बताउनुभयो।