Thu. May 15th, 2025

दोहोरी कलाकारहरुको बन्दसत्र सुरु, आज राती नै मनोनयन

धादिङ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको धादिङबेसीमा जारी आठौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा प्रतिष्ठानको सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हनेछ ।

विधानसभामा भएको विधान संसोधनको विषयमा पनि बन्दसत्रमा छलफल हुने र संशोधित विधान पास गरिने प्रतिष्ठानका अध्यक्ष रमेश विजीले बताए । विजीका अनुसार संशोधित विधानमा पदाधिकारीको केही पदहरु थप गरिएको छ ।

अध्यक्ष विजीभन्छन– ‘हामी नयाँ बन्ने कार्यसमिति सर्वसम्मत गराउने प्रयासमा छौं । सर्वसम्मत गराउन र प्रतिष्ठानलाई अझ बलियो बनाउनकै केही पद थप गरेर अघि बढेका हौं ।’ ५७ जनाको कार्यसमितिलाई बढाएर ७१ जनाको बनाउने तयारी भएको छ ।

निर्वाचन गराउदा राम्रा व्यक्तिहरु कमिटिबाट बाहिरिने र संस्था कमजोर बन्ने कुरालाई ध्यानमा राखेर सबै पदमा सर्वसम्मतीको लागि केही दिन अधिदेखि नै छलफल चलिरहेको प्रतिष्ठानका नेतृत्वहरुले बताएका छन् ।  

अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा लगभग सहमति भइसकेको बुझिएको छ । रिता थापा मगर अध्यक्ष र पशुमति शर्माको नाम बरिष्ठ उपाध्यक्षमा आएको छ । यद्यपी मनोनयन दर्ता भने भइसकेको छैन । उपाध्यक्ष, सचिव र कोषाध्यक्षका आकांक्षी धेरै भएकोले मनोनयन पूर्व नै प्रतिष्ठानका नेतृत्वकर्ताहरुले आन्तरिक छलफल गरिरहेको छ ।

प्रतिवेदन र संशोधित विधान पास गराएपछि आज राती नै निर्वाचनको कार्यक्रम सुरु गर्ने कार्यक्रम छ । पदाधिकारीमा सर्वसम्मतको प्रयास भइरहेपनि सदस्यहरुमा भने निर्वाचन हुने देखिन्छ । निर्वाचनको लागि आज राती नै मनोनयन दर्ता हुने र भोली विहान मतदान हुने बताइएको छ ।

About The Author

अन्य समाचारहरु: