रातो बाँदर पहिलो पटक ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा

माघ १०, २०८१

काठमाडौं -सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।

कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ । त्यस क्रममा उक्त जनावर मरे विवरण राखेर स्थानीय तहको रोहवरमा मुचुल्का उठाइ गाड्न समेत पाइन्छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालका अनुसार विभिन्न सर्तसहित रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो ।

सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै एक वर्षका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । सर्त अनुसार बाँदरलाई मार्ने उद्देश्यले गतिविधि गर्न पाइने छैन ।

तर, लखेट्ने वा पक्रने क्रममा मर्‍यो भने त्यस्तो बाँदरको संख्याको विवरण राख्नुपर्ने गरी सर्त तोकिएको छ । स्थानीय स्तरमा जंगली बाँदरको आतंकप्रति किसानले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

कृषि मन्त्रालयका अनुसार जंगली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधन हानि नोक्सानी पुर्‍याए किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने छ ।

रातो बाँदर पक्रिए त्यो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्ने छ ।बाँदर धपाउने क्रममा मर्‍यो भने सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहवरमा गाड्न पाइने भएको छ । त्यसको जानकारी निकुञ्ज वा वन कार्यालयमा गराउनुपर्ने छ ।

साथै, स्थानीय तहको वडामा समेत त्यसको जानकारी गराउनुपर्ने छ । रातो बाँदर मारिएमा कार्यालयहरूले हरेक दुई–दुई महिनामा मन्त्रालयमा विवरण पठाउनुपर्ने छ ।राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष वा राष्ट्रिय वन क्षेत्रमा भने जंगली रातो बाँदरलाई धपाउन, लखेट्न र पक्रन पाइँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ