– रामकुमार एलन
विक्रम सम्वत् २०८२ को पहिलो महिना वैशाखका पनि आधाउधी दिन सकिए । नजिकका बोर्डिङ स्कुलले पढाइ शुरु गरेर बालबालिकालाई नयाँ कक्षाको स्वाद दिँदै यो वर्षभरिका लागि थुपार्नु पर्ने ‘भुटन’ जम्मा पारिसक्यो । टेलरलाई कपडाको काम दिएर, पुस्तक पसललाई किताबको नाम दिएर । अभिभावकलाई भर्ना शुल्क नभनी अरु नै कुनै शीर्षक दिएर उनीहरुको सालभरिको खर्च जुटेको छ । अलिअलि खर्च त अरु केही दिन शिक्षक आन्दोलनलाई पठाउन पनि पुग्ने गरी उठेको हुनुपर्छ । किनभने यो देशमा शिक्षाका नाममा व्यापार चलाउनेहरु कम्युनिष्ट थिए, छन्, रहिरहनेछन् । जुन देशमा विद्यार्थीको युनियन र शिक्षकको महासंघ नै कम्युनिष्ट हुन्छ, त्यो देशमा उद्योगपति र मजदुर पनि कम्युनिष्ट पार्टीको भ्रातृसंगठन भएपछि समाजवादको कोरा सपनामा जनतालाई वर्गअनुसार लडाउन सकिन्छ भन्ने भूतले नेताहरुको दिमागमा घर गरेको छ र जनता पनि आफ्ना हकअधिकारका नाममा यसरी नै आन्दोलन गरिरहेको हामीले देखेको ३५ वर्ष हुनै लाग्यो ।
हाम्रो देशमा आन्दोलन कस्तो हुन्छ भने, डाक्टरले सेवा दिन्न भनेर सडकमा आउँछ, अनि सडकमा गाडी चलाउने चैँ गाडी चलाउँदिन भनेर यातायात बन्द गर्छ । शैक्षिक क्यालेन्डरका बेला शिक्षक पढाउँदैनन् । तर कोचिङ सेन्टर खोलेर कोचिङ, ट्युसन चैँ पढाउँछन् । अघिल्लो साता धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका पुगेको थिएँ । आन्दोलनमा भनेर बालविकास शिक्षक पनि स्कुल नआएपछि पालिका शिक्षकले स्कुल चलाइरहेका थिए । आन्दोलनमा गएको भनेर विद्यालय नआउने तर गाउँमै कोचिङ, ट्युसन सेन्टर चलाइरहेका शिक्षकहरुको नाम खोज्दै कारबाहीको तयारीमा थिए पालिका अध्यक्ष जयकुमार यादव । कोचिङमा पढाउन भ्याउने, स्कुल नआउने ? तलब फेरि पालिकाले खुवाउनु पर्ने, आन्दोलन काठमाडौँ गएर गर्ने । यो गजबको प्रणाली बनाउने हाम्रा वरपरका नेताहरुको अनुहार तपाईंलाई झल्झली याद आउँदैन ? जो सांसद हारेपछि आफूलाई संविधान सभा सदस्य भन्दै अतिथि आसन ग्रहणमा भाग खोजिरहेका हुन्छन् । स्थानीय तह र पालिका अनि निर्वाचन क्षेत्र र प्रदेशको भूगोलमा यति भए म जित्छु भनेर तपाईंहामीलाई घेरा लगाउने यिनै होइनन् ? यिनै ठूलो भाग खान पाइन्छ भनेर केन्द्रबाट तल झरेर कोही प्रदेशमा, कोही पालिकामा उठेर युवा पुस्ताको भाग खोस्नेहरुले होइन यो लठिभद्र पारेको ? देख्दा नमस्कार गर्न पनि लायक नरहेका यिनले परिवर्तनका नाममा गरेको भाँडभैलो हामीले मिलाइदिनु पर्ने ? अनि कुर्सी, पद, भागमा फेरि यिनै लाउकेहरुलाई पुर्याउनु पर्ने ?
अब असारका बेला बीउबिजन हुँदैन । भदौ लागेपछि सुनचाँदी आयातमा समस्या हुनेछ । कपडा व्यापारीहरु आन्दोलित हुनेछन् । दशैँमा यातायात व्यवसायीले टिकट बेच्दैनन् । इन्धनवालाहरु पनि आन्दोलन गर्छन् । दशैँतिहारमा जनताको यति मोटो रकम सकिन्छ कि । चिनी र तेल अभाव हुन्छ । दशैँ खर्चको बजेटको तीन गुणा बढी खर्च हुने गरेको छ । जस्तो हेटौँडा–काठमाडौँ गाडी भाडा ६५० रुपैयाँ त्यतिखेर १५ सय रुपैयाँ हुनेछ । बाटोमा भात खुवाउनेहरु उस्तै महंगो पार्नेछन् । दशैँतिहार जसोतसो मनायो । मंसिर पुसमा जनताले उत्पादन गरेको धानको मूल्य स्वात्तै घट्छ । भारतबाट चामल सस्तोमा आउँछ, यहाँको किसानको उत्पादनले मूल्य पाउँदैन । यसरी हामी विस्तारै संसारकै उत्कृष्ट निकम्मा भइरहेका छौँ । जोजसले यस्तो कीर्तेमा नेतृत्व गरिरहेका छन् । तिनीहरु नै राजीतिमा फुत्तफुत्त स्थापित पार्ने काममा हामी मेहनत कम गर्दैनौँ । तरकारी बजारमा फाल्ने काम हुन्छ । यसका लागि किसानलाई निरुत्साहित पार्न कोहीकसैले प्रायोजन गरिरहेको हुन्छ, हामी थाहा पाउँदैनौँ । पालिकाले शिक्षकलाई तलब खुवाउनु पर्छ, तर पालिका यसका लागि अब्बल हो कि होइन, समीक्षा गर्दैनौँ । यसपटक सबैले ‘गुड’ र ‘गजब’ भनेको काठमाडौँका बालेन्द्र साहले पनि शिक्षकलाई समयमा तलब खुवाउन सकेनन् । यो कुरा बाहिर नै आउँदैन ।
अनि जो पात्र आएर ‘फाइँफुट्टी’ देखाउँछन्, सामाजिक सञ्जालमा तिनैको पछि लाग्ने महान बुद्धिजीबी नेपालीहरु देख्दा लाग्छ, वर्षमा गोरुतिहार चैँ दुई दिन मनाउनु पर्छ, एकदिन चार खुट्टेको, एकदिन दुई खुट्टेको ! केही आशिका तामाङले पिशाब फेर्नेहरुलाई कराएकोमा वाह, क्या हिम्मतिली छोरी भनेर पछि लाग्छन् । कोही शर्मिला वाइबासँग मिलेर ऋषि धमलालाई गाली गर्छन् । कोही तारा बरालको वकालत हेरेर रमाउँछन् । कोही युवराज सफलको मुद्दामामिलामा हिँड्छन् । कोही शान्ति बरालको टिकटक लाइभमा व्यस्त हुन्छन् । कोही पुण्य गौतमसँग अर्काको घर मिलाउँदै हिँड्छन् । कोही दुर्गा प्रसाईंको आन्दोलनमा ऋण काढेर काठमाडौँ पुग्छन् । कोही दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यौ’मा नाचिरहेका छन् ।
कोही राजा ल्याउने भन्दै काठमाडौँ गएर चप्पल हराएर आउँछन् । देश यस्तै राइफाँडो पारेर शासकहरु निर्धक्क ३५ वर्षदेखि तपाईं हामीलाई पालैपालो कजाइरहेका छन् । यिनले दोस्रो पुस्ताका ईश्वर पोखरेल, वामदेव गौतम, राजेन्द्र पाण्डे, शेखर कोइराला, बुद्धिमान तामाङ, पूर्णबहादुर खड्काहरुलाई रिटायर्ड बनाइसके । तर आफू फस्ट म्यान बनेर सत्ता र पार्टीको कुर्सी छाड्दैनन् । जनता गगन थापा, योगेश भट्टराई, रामकुमार झाँक्री छाडेर चौथो पुस्ता बालेन, सुनिता, हर्कमा पुगिसके । हाम्रा नेताहरु अझैँ पहिलो पुस्ताकै युवा छन् । दोस्रो पुस्ता मौन छन् । तेस्रो पुस्ता चाकर बनेका छन् र जनता चौथा पुस्ता हेर्ने भनेर कहिले आशिका, कहिले शर्मिला त कहिले दुर्गेश थापाको ‘धूलो उडाउने’ कार्यक्रममा कम्मर भाँचिरहेका छन्, ताली बजाइरहेका छन्, कोही कोही फेरि ‘नो नट एगेन’ भन्थे, नागरिकता नभए पनि मै, पासपोर्ट दुई वटा भए पनि मै, पत्नी जतिवटा भए पनि मै, अरु त्यस्तै हो, कुर्सी गृहमन्त्रालयमै भनेर ‘जान्ने र नयाँ’ भन्दै हिँडिरहेका छन् । भनिरहेका छन्, ‘प्रतिशोध साधियो ।’ ठगलाई ठग भन्न नपाइने, प्रश्न गर्न नपाइने, हूल बाँधेर सडकदेखि संसदसम्म विरोध गरेका भरमा सत्ता पाइने कस्तो नयाँ र जान्ने हो ? यसको उत्तर पनि दिन नमान्नेहरुलाई पनि वर्ष २०८१ फलिफाप भयो कि पापको घडा उत्रियो ? उनै जानून् ।
बारी सुक्खा भएको छ । खेतमा उब्जाउ हुन छाडेको छ । समयमा रासायनिक मल आउँदैन भन्ने दिन पनि गए । किनभने किसानी को नै छन् र ? सबै स्वतन्त्र छन् । गाउँको एउटा टोली आन्दोलन गएर फर्कन नपाउँदै अर्को टोली फेरि काठमाडौँ जान ऋण खोजिरहेको हुन्छ । किलोमा बाँधेको गोरु मरे पनि देशको चिन्ता गरेर घरव्यवहार हेर्ने फुर्सद नै हुन छाडेको पुस्ता भएका छौँ । बच्चाको स्कुलमा वर्षमा एकदिन पुग्दैनौँ । कस्तो पढिरहेको छ, रिपोर्ट हेर्दैनौँ । पति र पत्नीको पार्टी फरक । बैठक लगातार । दुईबीचको भेट हुन त मुस्किल छ गणतन्त्रमा !
यिनै पुराना कुराहरु नयाँ वर्षमा तपाईंलाई सम्झाउन मलाई पनि फिटिक्कै मन थिएन । तर के गर्ने ? यिनै पुराना कुरा भन्दा माथि हामी उठ्न सकेकै छैनौँ । उठ्ने कसरी ? जनता जागरुक भएर भनौँ भने हामीकहाँ कस्ता जनता जागरुक छन् ? तिनको हुलिया लेखौँ भने मुद्दा हालेर अपमान गर्न पाईंदैन भनेर फेरि दुःख दिनेवाला छन् । ऋण लिएपछि तिर्न नपर्ने, मिनाह खोज्ने । घर बनाउन नसकेकाहरुले देश बनाउँछु भनेर हिँड्ने । सम्पत्तिका मुद्दा, छिमेकीका मुद्दा, तिनको हुलिया यस्ता हर्कतपूर्ण व्यवहारले भरिपूर्ण छन् कि काठमाडौँ तिनकुनेमा उभिएर शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेपछि तिनीहरु पनि बालेन, हर्कजस्तै असली नेता, रवि लामिछाने भन्दा ठूला । यिनको के बखान गर्ने ? हामी जनता उस्तै । जहिले यस्ताका पछि लागेर समय सिध्यायौँ । पार्टीको पछि लाग भनेर भनिदैँन । तर पार्टीलाई त कम्तीमा अरु छिमेकी देशले पत्याएका छन् । हाम्रा यी नयाँ अभियन्ताको पुरानो मुद्दा हेरेर प्रश्न गरौँ न, ‘पहिला टोलछिमेकमा चुनाव जित्ने भएर आऊ ।’ पुरानै कुरा नसुधारी नयाँ कुरा केही नगरौँ । यसपालि यस्तै थाङ्ने गन्थनमा समय सकियो ल ? य, थाङ्ने पो भनेको भनेर केहीलाई गरम मसला चैँ पक्कै हुनेछ । शुभकामना सबैमा । सबैको जय होस् ।
००००