
शंकर श्रेष्ठ,
धादिङ । सदरमुकाम धादिङबेसीमा वर्षौदेखि संचालित सहिद मेमोरियल अस्पतालले न्युनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।
पछिल्लो पटक अस्पतालको गेटैमा लगेर संचालन सुरु गरेको अस्पतालले एकातर्फ कुनै मापदण्ड पूरा गरेको छैन भने अर्कोतर्फ नवीकरण समेत गरेको छैन ।
दक्ष चिकित्सक सहित २४ सै घण्टा अत्याधुनिक प्रविधिबाट सेवा दिने विज्ञापन गरी संचालन गरिरहेको अस्पतालमा चिकित्सक र उपकरण त छैन नै अक्सिजनको समेत जोरजाम छैन । २०६४ सालमा १५ शैयाको अनुमति लिएर सुरु गरेको अस्पतालले अहिले ५० शैयाको अनुमति लिएको भनिएको छ । ५० शैयामा संचालन सुरु गरिएको भनेपनि अस्पतालमा एक जना हेल्थ असिस्टेन्ट मात्रै छन् । चिकित्सक एक जना पनि छैनन् ।
चार वर्षदेखि नविकरण समेत नभएको पाइएको सोमबार साँझ अनुगमनमा पुगेका जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले बताए ।
२०८१ माघ अन्तिम साता तामझामसहित औपचारिक सेवा सुरु गरेपनि अस्पताल संचालक समेत रहेका अस्पतालका प्रबन्ध निर्देशक दिपक रेग्मीले भने अस्पतालले सेवा नै सुरु नगरेको प्रतिकृया दिए । अनुगनमा पुगेका टोलीलाई ब्रिफिङ गर्दै रेग्मीले भने–‘हामीले अस्पतालमा वार्डहरु संचालन गरेका छैनौं । इमर्जेन्सीमा आकस्मिक उपचार मात्रै गराइरहेका छौं । त्यसैले हामीले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार मेडिकल अफिसरहरु (चिकित्सक) छैनन् ।’
अस्पतालको अवस्थाबारे सर्वसाधारणले समेत छर्लङ्ग देखेको कुरालाई ढाकछोप गर्दै स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरीक्षक किरण कुमार नगरकोटीले पनि अहिले अस्पताल संचालनमा नरहेको बताए । उनले भने–‘१५ शैयाको अनुमति रहेछ । ५० शैयाको बनाउने प्रकृयामा हुनुहुन्छ । अहिले अस्पताल संचालनमा रहेनछ ।’
अनुगमन टोलीले देखेन फार्मेसी र बेडका बिरामी

मापदण्ड विपरित बेहाल अवस्थामा संचालन भइरहेको देखि–देखि पनि सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा अनुगमन गएको टोली अस्पताल सञ्चालनमा नरहेको भन्दै चुपचाप फर्किएको छ । अस्पतालले सामान्य इमर्जेन्सी सेवा मात्र दिइरहेको र नविकरणको प्रकृया सुरु गरेको भन्दै अस्पतालका निर्देशक दिपक रेग्मीको बनावटी जवाफ सुनेर अनुगमन टोली फर्किएको हो ।
अनुगमन टोली पुग्दा पनि अस्पतालको शैयामा बिरामी उपचार गराइरहेका थिए । तर, ‘अस्पताल संचालनमा नै छैन, इमर्जेन्सी सेवा मात्रै दिइरहेका हौं’ भन्ने अस्पतालका निर्देशक रेग्मीको ब्रिफिङ सुनेर फर्किएका अनुगमन टोलीले वेडमा सुतेको बिरामी त देखेन नै अस्पतालको मुख्य प्रवेशद्धारमा रहेको फार्मेसी समेत नहेरी फर्किएको छ ।
अस्पताल अनुगमन सकेर निस्किएका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने भन्छन्–‘कानुनी प्रकृया र मापदण्डको बारेमा हामी जानकार होइनौं, हामी संबन्धित निकायहरुमा जानकारी गराउनेछौं, अन्य विषयमा माथिको टोली आउनुपर्छ ।’
अस्पतालमा काँग्रेस, एमाले र माओवादी निकटका कर्मचारी, पत्रकार तथा व्यवसायीहरुको लगानी छ । सत्ता र पैसाको बलमा मध्य बजारमा अवैध अस्पताल सञ्चालन हुँदा समेत सरोकारवाला निकाय मौन बस्नु दुःखद् भएको जानकारहरुले प्रतिकृया दिएका छन् ।
केहि महिना अघि मात्र क्याम्पस चोकमा सारिएको सहिद मेमोरियल अस्पताल सरकारी अस्पतालको ५० मिटरको दुरीमा रहेको छ । जवकी एक अस्पतालबाट यति नजिकको दुरीमा अर्को अस्पताल संचालन गर्न पाईदैन । संचालन गर्नुपूर्व नजिकको अस्पतालसँग सहमति लिनुपर्ने प्रावधान छ ।
सरकारीमा राम्रो उपचार हुँदैन भन्दै गलत प्रचार गर्ने गरेको पनि पाइएको छ । सरकारी अस्पतालमा भर्ना भएका कतिपय बिरामीलाई समेत मिलेमतोमा सहिद मेमोरियलमा पठाउने गरेको तथ्य पनि भेटिएको छ । धादिङ अस्पतालमा सेवारत चिकित्सकहरुलाई नै नयाँ सेयर दिएर सहिद मेमोरियलले चिकित्सकहरुलाई आफ्नो पञ्जामा पारेका छन् । धादिङ अस्पतालमा उपचार गर्न पुगेका बिरामीलाई सरकारी अस्पतालमा राम्रो उपचार नहुने भ्रम फैलाउँदै सेवाग्राहीसँग महंगो शुल्क असुल्ने गरेको पाइएको हो ।
केही समय अघि मुटुको जाँच गर्न धादिङ अस्पताल पुगेका सिद्धलेक गाउँपालिकाका एकजना सेवाग्राही भन्छन्– ‘धादिङ अस्पतालले नै सहिद मेमोरियलमा जानु भन्यो, गयौं । उपचार भएन अनि फर्किएर मेडिकलबाट औषधी किन्यौं ।’
धादिङ जिल्ला नै स्थायी घर भई हाल धादिङ अस्पतालमा सेवारत डा. राम रिजाल, डा. मधुकर दाहाल, डा. दिनेश रेग्मी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा कार्यरत प्रकाश सापकोटाको पनि सहिद मेमोरियलमा सेयर छ । धादिङ अस्पतालमा कार्यरत चिकित्सकहरुले नै लगानी गरेको कारण कर्मचारीको विवरणमा डाक्टर नदेखिएपनि सरकारी अस्पतालका चिकित्सकहरु लुकि लुकि आएर बिरामी हेर्ने गरेका छन् ।