
- राजाराम शर्मा
नेपाल सरकारले चालु गरेको यस्तो स्वास्थ्य अभियान हो पूर्ण संस्थागत सुत्केरी अभियान, जसअन्तर्गत सबै गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामार्फत सुरक्षित तवरले सुत्केरी गराउने व्यवस्था गरिन्छ। यस अभियानको मुख्य उद्देश्य मातृ तथा नवजात मृत्यु दरलाई न्यून गर्नु हो । यस अभियानमा गर्भवती महिलालाई अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा बर्थिङ्ग सेन्टरमा सुत्केरी गराउन उत्प्रेरित गरिन्छ। संस्थागत सुत्केरी सेवाहरू निःशुल्क रूपमा प्रदान गरिन्छ, जसमा औषधि, उपकरण, जनशक्ति र एम्बुलेन्स सेवा पनि समावेश हुन्छ। सरकारद्वारा महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्था जान खर्च लाग्ने यातायात शुल्क पनि उपलब्ध गराइन्छ, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका लागि।
यो अभियान सुरक्षित मातृत्व कार्यक्रम (Safe Motherhood Programme) अन्तर्गत सञ्चालनमा ल्याइएको हो। प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुत्केरी गराइन्छ जसले जटिलता आएमा उचित उपचार र सिफारिस गर्न सक्छन्।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका यस्तो पालिका हो जसले बागमती प्रदेशभित्र पूर्ण संस्थागत सुत्केरी अभियान सम्पन्न गरेर अब यस गाउँपालिकामा कोहि पनि स्वास्थ्य संस्था बाहेक अन्यत्र (घरमा) सुत्केरी हुँदैनन् भनेर घोषणा गरेको छ ।
के यस्तो घोषणा जहिले मन लाग्यो त्यहिबेला घोषणा गर्ने हो ? होइन, पूर्ण संस्थागत सुत्केरी अभियान अन्तर्गत कुनै वडा, गाउँपालिका वा नगरपालिका “पूर्ण संस्थागत सुत्केरी सेवायुक्त” घोषणा हुनका लागि नेपाल सरकार तथा प्रदेश स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डहरू पूरा गर्नुपर्छ । जसमा कम्तीमा ९०% गर्भवतीले चार पटक गर्भजाँच गराएको हुनुपर्छ। सुत्केरी भएका महिलामध्ये कम्तीमा ९५% ले दक्ष प्रसूतिकर्मीको उपस्थितिमा स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्छ। घरमा सुत्केरी हुने दर शून्य हुनुपर्छ। सुत्केरी भएका महिलामध्ये कम्तीमा ९०% ले प्रसूति पश्चात जाँच गराएको हुनुपर्छ। सबै वडामा स्वास्थ्य संस्थाहरूको पहुँच सुनिश्चित गरिएको हुनुपर्छ। समुदायमा स्वास्थ्य शिक्षा, जनचेतना अभिवृद्धि तथा सुत्केरी सेवा उपयोगमा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिएको हुनुपर्छ। स्थानीय सरकार तथा स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता र अनुगमन प्रणाली सुदृढ गरिएको हुनुपर्छ।
यी मापदण्डहरू पूरा भएपछि सम्बन्धित स्थानीय तहले स्वास्थ्य कार्यालयमार्फत प्रदेश स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेश गर्छ। आवश्यक मूल्याङ्कन र प्रमाणीकरणपछि औपचारिक रूपमा “पूर्ण संस्थागत सुत्केरी सेवायुक्त” घोषणा गरिन्छ। यस घोषणासँगै प्रमाणपत्र प्रदान गरिन्छ र सार्वजनिक रूपमा कार्यक्रम आयोजना गरिन्छ। ज्वालामुखी गाउँपालिकाले यी सबै प्रकृया पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरेको हो।
संघीय सरकारले मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि विभिन्न नीति, कार्यक्रम र निर्देशिका मार्फत मार्गनिर्देशन प्रदान गर्दै आएको छ। मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा संस्थागत सुत्केरीलाई प्राथमिकता दिइएको छ। जसले प्रदेश र स्थानीय तहलाई मार्गनिर्देशन प्रदान गर्दछ।
यो किन महत्वपूर्ण छ?
पूर्ण संस्थागत सुत्केरी अभियान नेपालमा मातृ र नवजात शिशु स्वास्थ्य सुधारका लागि अत्यन्तै महत्वपूर्ण कार्यक्रम हो। यसको महत्व विभिन्न सामाजिक, स्वास्थ्य र आर्थिक पक्षहरूसँग गासिएको छ। घरमै सुत्केरी गराउँदा धेरै जसो अवस्थामा ज्यान जोखिममा पर्ने सम्भावना बढी हुन्छ । प्रशिक्षित स्वास्थ्यकर्मीको उपस्थितिमा सुत्केरी गराउँदा आमाको स्वास्थ्य सुरक्षित रहन्छ । नवजात शिशुको मृत्यु दर घटाउन सहयोग पुग्छ । रक्तश्राव, झाडा–बान्ता, उच्च रक्तचाप, प्रि-एक्लेम्प्सिया आदि समस्या बेलैमा पहिचान हुन्छ। आपत्कालीन सेवाको तत्काल उपलब्धता हुन्छ, यसले मातृ मृत्युदर कम गर्न ठूलो योगदान दिन्छ । नवजात शिशुमा श्वासप्रश्वासको समस्या, जन्मजात संक्रमण वा तौल कम भएका शिशुहरूलाई तत्काल सेवा दिन सकिन्छ । दुर्गम, गरिब, सीमान्तकृत समुदायका महिलालाई पनि संस्थागत सेवा निःशुल्क वा अनुदानमा उपलब्ध हुन्छ । यातायात खर्च, स्वास्थ्य सेवा, औषधि सबै सरकारद्वारा व्यहोर्ने व्यवस्था छ । पूर्ण संस्थागत सुत्केरी अभियान केवल एक स्वास्थ्य कार्यक्रम मात्र होइन, यो जीवन बचाउने, चेतना अभिवृद्धि गर्ने र सामाजिक समानताको दिशामा अगाडि बढाउने अभियान हो ।
अभियानको अगुवा ज्वालामुखी गाउँपालिका
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी अभियानलाई तीव्रता दिँदै मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारमा उल्लेखनीय पहलहरू गरेको छ। गाउँपालिकाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्यायो। गाउँपालिकाले वडास्तरमा समीक्षा र सूक्ष्म योजना तर्जुमा कार्यक्रमहरू सञ्चालन गरेको थियो। यस कार्यक्रममार्फत घरमै सुत्केरी हुने दर घटाउन रणनीति तयार पारेको थियो। गाउँपालिकाको सक्रियता र प्रतिबद्धताले अन्य स्थानीय तहहरूका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
ज्वालामुखी गाउँपालिकाद्वारा सञ्चालित पूर्ण संस्थागत सुत्केरी अभियान एक अत्यन्तै प्रशंसनीय, दूरदर्शी र जनजीवनमैत्री पहल हो। सुरक्षित मातृत्व सुनिश्चित गर्न, घरमै हुने सुत्केरीका जोखिमलाई न्यूनिकरण गर्दै प्रत्येक आमा र नवजात शिशुको जीवन रक्षा गर्ने यो प्रयास साँच्चिकै अनुकरणीय छ।
गाउँपालिकाले सिंगो गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्नु मात्रै नभई यस अभियानलाई व्यवहारमा उतार्ने जिम्मेवारी पनि प्रभावकारी ढंगले पुरा गरिरहेको छ। समीक्षा तथा योजना तर्जुमा कार्यक्रम, जनचेतना अभिवृद्धि, स्वास्थ्य सेवा पहुँच विस्तारजस्ता कार्यहरू अत्यन्त उल्लेखनीय छन्। यस अभियानमा समर्पित गाउँपालिकाका अध्यक्ष यामनाथ दनै सहितका वर्तमान जनप्रतिनिध, पूर्व अध्यक्ष विनाेदराज तिमल्सिना सहितका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख सहित सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायका अगुवाहरूप्रति हार्दिक आभार । उहाँहरूको निरन्तर परिश्रम, समर्पण र सहयोगले यो उपलब्धि सम्भव भएको हो।
यस प्रकारको सकारात्मक अभ्यासले जिल्लाको मात्र नभई देशकै स्वास्थ्य सुधार यात्रामा नयाँ प्रेरणा थपेको छ। आशा गरौं निकट भविष्यमा धादिङका सम्पूर्ण पालिका पूर्ण संस्थागत सुत्केरी घोषणातर्फ अग्रसर हुनेछन्। ज्वालामुखीको यो पहल सबै स्थानीय तहहरूको लागि अनुकरणीय मार्गदर्शक बन्न सकोस्।
(लेखक रेडियो धादिङका स्टेशन म्यानेजर एवम् पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष हुन्)