धादिङ ।
त्रिशुली नदीको उपल्लो भु–भाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशुली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।
गजुरी गाउँपालिका–६ बेल्खु भन्ने स्थानमा एक जना र गल्छी गाउँपालिका–२ केउरेनी भन्ने स्थानमा एक जना गरी दुई जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
छिमेकी देश चीन र नेपालको सिमानाबाट सम्पर्क विहिन बनेका नागरिकको शव हुन सक्ने अनुमान गरिएको छ । विहानैदेखि त्रिशुली नदीमा बहाव अत्यधिक बढेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशुली नदी किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ ।
शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार जलाउँदै गर्दा बगाएको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका आफन्त रहेको बुझिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा असार २३ गते राति भारी वर्षासँगै त्रिशुली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकोले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनामा नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।