नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

असार २९, २०८२

धादिङ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सुचना समेत नगरी सुटुक्क सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले पनि आफ्नो व्यानर टाँसेर औपचारिकता पुरा गरेको हो ।

सेवाग्राहीका गुनासो सुन्ने, सुधारका मार्ग पहिल्याउने र कार्यालयको उत्तरदायित्वलाई जनसमक्ष ल्याउने सार्वजनिक सुनुवाइको उद्देश्य हो भने नागरिकका गुनासो, सुझाव र जिज्ञासालाई प्रत्यक्ष रूपमा सुनेर सेवा प्रवाहमा सुधार गर्नु सार्वजनिक सुनुवाईको अर्काे उद्देश्य हो । यसले प्रशासनिक पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम गर्न सहयोग गर्छ । तर, सार्वजनिक सुनुवाइ हुँदैछ भन्ने खबर समेत नदिई नगरपालिकाको कार्यक्रममा सुटुक्क आफ्नो व्यानर राख्नुले गुपचुप रुपमा औपचारिकता पूरा गर्ने, जिम्मेवारीबाट जोगिन खोज्ने र जनताको आँखामा धुलो हाल्ने कामको सुरुवात भएको प्रष्ट बुझ्न सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे भने यो मान्न तयार देखिएनन् । आफ्नो कार्यालयमा बजेट नहुने र सधैंजसो यसैगरी सार्वजनिक सुनुवाइ गर्दै आएको हलुका जवाफ उनले दिए । तीन तह बीच समन्वय सहकार्यका आधारमा काम गर्ने भनिएकोले नीलकण्ठ नगरपालिकासँग सहकार्य गरेर सार्वजनिक सुनुवाइ गरिएको प्रतिकृया दिए ।

प्रशासन कार्यालय सबै सरकारी कार्यालयको नियमनकारी कार्यालय हो । प्रशासनले आयोजना गर्ने सार्वजनिक सुनुवाइमा जिल्लामा रहेका अन्य सरकारी कार्यालयहरूले प्रदान गर्ने सेवा र कामप्रति पनि जनताले गुनासो राख्न पाउँछन् । नगरस्तरीय कार्यक्रममा सिंगो जिल्लाको कुरा समेट्नुपर्ने सार्वजनिक सुनुवाइको व्यानर त झुण्ड्याइयो, तर जिल्लास्थित कार्यालयका प्रमुखहरू कार्यक्रममा एकाध बाहेक थिएनन् । कार्यक्रम स्थलको गेटैमा गेट जोडिएका सरकारी कार्यालयका प्रमुखहरुको समेत उपस्थिति देखिएन । आएका केही पनि औपचारिक हाजिरी गरेर निस्किएको अवस्था देखियो । उपस्थित सरोकारवालाहरूले ठूला अपेक्षा बोकेर प्रश्नहरू र गुनासाहरू राख्न खोजे, तर सम्बोधन गर्ने जिम्मेवार अधिकारीहरू नहुँदा उनीहरूको जिज्ञासा झुण्डिएको व्यानरझैं अलपत्र बन्यो ।

सार्वजनिक सुनुवाइ समग्र सरकारी सेवा प्रणालीको मूल्याङ्कन र सुधारको अवसर हो । कार्यालयहरूको सेवा, जिम्मेवारी र कार्यसम्पादनसँग सम्बन्धित हुन्छन् । सम्बन्धित कार्यालय प्रमुखहरू स्वयं उपस्थित भएर जनताको प्रश्नको जवाफ दिनुपर्छ । तर, जिल्ला प्रशासनले आइतबार गरेको सार्वजनिक सुनुवाइले सरकारी कार्यालयको पारदर्शिता र जवाफदेहिता माथी नै प्रश्न उठाएको छ ।

स्थानीय तहको कार्यक्रममा जिल्लास्थित सबैभन्दा ठूलो सरकारी कार्यालयको सार्वजनिक सुनुवाइको नाममा औपचारिकता मात्र पूरा गरिनु, जनप्रतिनिधि र जनतालाई अलमल्याउने काम मात्रै हो कि भन्ने आशंका पनि पैदा भएको छ । यसले सार्वजनिक सुनुवाइको औचित्य र प्रभावकारिता नै गुमाएको जानकारहरुले प्रतिकृया दिएका छन् । कार्यक्रममा सहभागी सेवाग्राही र स्थानीयहरूले सरकारी सेवाप्रदायक निकायका प्रमुखहरू स्वयं आएर जवाफ दिनु पर्ने माग राखेका थिए ।

अब प्रश्न उठ्छ– जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुनुवाइको सुचना किन गरेन ? के सार्वजनिक सुनुवाइ नामको मात्रै हो ? किन कार्यालय प्रमुखहरू सार्वजनिक सुनुवाईमा आएनन् ? जवाफ नदिने हो भने, सार्वजनिक सुनुवाइ गर्नुको उद्देश्य के हो ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ