धादिङ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२, आपटाँरस्थित मलेखु–कान्द्राङगढी भित्री सडकखण्डमा एक सय ४३ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ । विशेष सूचनाको आधारमा लागु औषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नम्बरको सवारीसाधनमा गाँजा बरामद गरेको हो । चितवन जिल्लाको सिमानामा पर्ने कान्द्राङगढीबाट धादिङको मलेखुतर्फ आइरहेको गाडी चेकजाँच गर्दा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
चालक भारतको बिहार राज्यका ४५ वर्षीय सरहज मियाँ रहेको खुलेको छ । उनको साथमा रहेको गाडीको सिटमुनी च्याँसिसको भागमा फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको हमालले जानकारी दिए ।
प्रहरीका अनुसार अलग–अलग ३१ वटा पोका गाँजा एक सय ४३ किलोग्राम रहेको छ । उक्त लागु औषधसहित सरहज मियाँलाई नियन्त्रणमा लिई जिल्ला अदालत धादिङबाट १२ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।