काठमाडौं । पोखरामा भदौ २९ गते हुने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौं एक कार्यक्रम गर्दै पिपुल्स च्वाईस अवार्डका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा क्रिकेटर पूजा महत्तो, फुटबलर रेखा पौडेल, भलिबलका हिमाल सुनारी, उसुका विजय सिञ्जाली र टेबल टेनिसकी एभाना थापा परेका छन् । यीमध्येबाट आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा विजेता चुनिने छन् ।
पहिलोपटक आईसीसी यु-१९ विश्वकप खेल्दा क्रिकेटकी पूजाले नेपालको कप्तानी गरेकी थिइन् । फुटबलकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् । भलिबलका हिमाल नेपालको घरेलु भलिबलका उत्कृष्ट र लोकप्रिय खेलाडी हुन् । उसुका विजयले जापानको योकोहामामा भएको तेस्रो थाउनु विश्वकपमा कास्य पदक जितेका थिए । टेबलटेनिसकी इभानाले दक्षिण एसियाली टेबलटेनिसमा ४ पदक जितेकी थिइन् ।