स्पेनिस लिग ला लिगामा साविक विजेता बार्सिलोनाले सुखद शुरूवात गरेको छ । शनिबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको मालोर्कालाई ३-० गोलले हराउँदै बार्सिलोनाले लिगमा उत्कृष्ट शुरूवात गरेको हो ।
इस्टाडी मालोर्का सन मोइक्समा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा, फेरान टोरेस र लामिने यामालले समान एक/एक गोल गरे । खेलको सातौँ मिनेटमा लामिने यामालको क्रसमा राफिन्हाले हेडर गोल गर्दै बार्सिलोनालाई शुरूवाती अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा मानु मोर्लानेस दुई पहेंलो कार्ड सहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मालोर्का १० खेलाडीमा समेटिएको थियो ।
बार्सिलोनाका युवा विंगर लामिने यामाललाई फावल गरेपछि उनले दोस्रो पहेंलो कार्ड पाएका थिए । छ मिनेटपछि मालोर्काका फरवार्ड भेडात मुरिकीपनि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि घरेलु टोली ९ खेलाडीमा समेटिएको थियो । भीएआर रिभ्युबाट उनलाई हाइ फुटको कारण कार्ड रेफ्रीले रातो कार्ड देखाएका हुन् ।
यस्तै दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा गाभीको पासमा यामालले गोल गर्दै बार्सिलोनालाई ३-० गोलको जित दिलाएका हुन् । जितसँगै बार्सिलोनाले तीन अंक जोडेको छ ।