आजबाट लागू हुनेगरी वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार साउनको तुलनामा औसत ब्याजदर घटेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ५.५८ प्रतिशतमा झरेको छ । जबकि साउन महिनामा यो ५.६० प्रतिशत थियो ।
त्यस्तै, साउनमा संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत बिन्दुले ब्याज दिएका बैंकहरूको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ ।
एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्रभु बैंकको भने त्यस्तो ब्याजदर बढेको छ ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्डले भदौमा अधिकतम ५.१३ प्रतिशत ब्याज दिँदैछ । प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पुर्याएको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । यो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
यस्तो ब्याजदरलाई स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेण्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंक छन् । सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको अधिकतम ५ प्रतिशत रहेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरुलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ ।