७ माघ, रसुवा – लाङटाङका भूकम्पपीडित किसानलाई झोमो जातको चौँरी गाई वितरण गरिएको छ ।
लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका सचिव सोन नुर्वु लामाका अनुसार ४५ वटा चौँरी खरिद गरी २० जना किसानलाई वितरण गरिएको हो ।
चौँरीको दूध यथेष्ट मात्रामा उत्पादन गराई नेपालको जेठो चिज कारखाना क्याङ्जेन पुनः सञ्चालनमा ल्याउने र दूध बिक्रीबाट प्राप्त आयले गरिब किसानको जीविकोपार्जनमा सरलता ल्याउने उद्देश्यले हेलम्बु क्षेत्रबाट २० लाख २५ हजार रूपैयाँ बराबरको चौँरी खरिद गरिएको बताइएको छ ।
भूकम्पबाट विस्थापित एक सय १६ घर परिवारलाई आफ्नो थातथलोमा फर्काई आधारभूत आवश्यकता र पुनःनिर्माणको प्रयास भइरहेको लामाले बताए । रासस