Sat. Jul 27th, 2024

चुनढुंगाखानी अब पर्यटकीय क्षेत्र बनाइने

chungdhunga_856634601

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले नरपानी र खाँचीकोटमा रहेको चुनढुंगा उत्खननकार्य स्थानीय जनता, नगरवासी, राजनीतिक दललगायत सरोकारवालाको सहमतिबिना उत्खनन नगर्ने निर्णय गरेको छ। नगरपालिकाको गत मंगलबार बसेको बैठकले स्थानीय जनता, नगरवासी, राजनीतिक दललगायत सरोकारवालाको सहमतिबिना उत्खननकार्य नगर्ने निर्णय गरेको हो।

यी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरी नगरपालिकाको आन्तरिक स्रोत वृद्धिको माध्यमका रूपमा विकास गर्ने रणनीति आगामी परिषद्मा पेस गर्ने पनि बैठकले निर्णय गरेको छ।

सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक पदाधिकारी, वडासचिव र कर्मचारीको उपस्थितिमा बसेको बैठकले सहमतिबिना उत्खननकार्य नगर्ने निर्णय गरिएको हो।

अर्घाखाँचीको नरपानी गाविसमा चुनढुंगा उत्खननकार्य झन्डै तीन वर्षदेखि बन्द भएको छ। चुनढुंगा उत्खनन गर्न सुरु गरेको ६ वर्षमा नै पानीका मुहान सुकेपछि गाउँले आन्दोलनमा उत्रिएका थिए।

नगरपालिकाको गत मंगलबार बसेको बैठकले स्थानीय जनता, नगरवासी, राजनीतिक दललगायत सरोकारवालाको सहमतिबिना उत्खननकार्य नगर्ने निर्णय गरेको हो।

कम्पनीले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै उत्खननकार्य रोक्न मागसहित स्थानीय बासिन्दा संघर्षमा उत्रिएपछि उत्खननकार्य तीन वर्षदेखि बन्द भएको हो। अहिले उत्खनन गर्ने कम्पनीले आफूहरूले उत्खनन गरेको स्टक सामान लैजान पाउनुपर्ने दाबी गरेका छन्।

चुनढुंगा उत्खननका कारण खानेपानीका मुहान सुकेको र वातावरणीय क्षति भएको भन्दै स्थानीय बासिन्दाले २०६८ कात्तिक २० गतेदेखि नरपानीमा सञ्चालित चुनढुंगा उत्खननको सबै कामकाज पूर्ण रूपमा ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए।

अर्घाखाँची सिमेन्ट प्रालिले स्थानीय सडक निर्माण, सडकको स्तरवृद्घि, पानीका मुहानको संरक्षण, वृक्षरोपण, दुर्घटना न्यूनीकरण योजना, शैक्षिक चेतनाका कार्यक्रम सञ्चालन गर्न नयाँ उद्योग स्थापनामा स्थानीय बासिन्दालाई नै काम दिने बताए पनि हालसम्म यो प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै आक्रोशित भएका हुन्।

स्थानीय प्रशासनको पहलमा चुनढुंगाको विषयलाई लिएर पटकपटक वार्ता, छलफल र अन्तरक्रियाहरू भए पनि सहमति जुट्न सकेको छैन। सुरुमा एकजुट भएर चुनढुंगा उत्खननविरुद्ध संघर्षमा उत्रिएका स्थानीय बासिन्दाबीच नै अहिले फाटो आएको छ।

एकथरी जसरी पनि खानी सञ्चालन गर्ने पक्षमा लागेका छन् भने अर्काथरी कम्पनीले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै खानी चल्नै नदिने पक्षमा लागेका छन्।

सरकारले ३० वर्षसम्म चुनढुंगा उत्खनन गर्न डाइनेस्टिक कम्पनी हालको अर्घाखाँची सिमेन्ट प्रालिलाई अनुमति दिएको थियो। उत्खननकार्यको ६ वर्षभित्रै एकाएक खानेपानीका मुहान सुकेपछि गाउँलेले आन्दोलन सुरु गरेका हुन्।

जिल्लामै सबैभन्दा खानेपानीका मुहान धेरै र ठूलो भएकाले नरापानीबाट सदरमुकाम सन्धिखर्कलगायत पाली, खाँचीकोट, सीतापुरलगायतका गाविसमा यही मुहानबाट पानी लगिएको छ।

अर्घाखाची सिमेन्ट प्रालिका महाप्रबन्धक महेन्द्र रावलले चुनढुंगा उत्खननबाट खानेपानीका मुहान बन्द भएमा त्यसको क्षतिपूर्ति गर्न स्थानीय बासिनदासँग कम्पनीले पहल गर्ने जानकारी दिए। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले स्थानीयको सहमतिअनुसार काम गरिने बताए।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: