Sat. Jul 27th, 2024

बाबुरामपक्षीय मजदुरको छुट्टै कमिटी

प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक १५ – प्रधानमन्त्री तथा एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराईनिकट होटल तथा रेस्टुरा मजदुर संगठनका नेताले औपचारिक रूपमै समानान्तर कमिटी गठन गरेका छन्।अध्यक्ष पुष्पकमल दाहाल पक्षले संगठनभित्र आफूहरूलाई निषेध गरेको भन्दै भट्टराईनिकट मजदुर नेताले श्रम कार्यालयमा औपचारिक रूपमा दर्ता गरेर समानान्तर संगठन गठन गरेका हुन्।

प्रधानमन्त्री भट्टराईको सहमति र निर्देशनमा उक्त समानान्तर कमिटी बनाएको मजदुर नेताले बताए। मुक्ति दाहालको नेतृत्वमा छुट्टै कमिटी बनाउन हायात रिजेन्सी होटल एकाइले मंगलबार श्रम कार्यालयबाट स्वीकृति लिएको छ। गोकर्ण अधिकारीको नेतृत्वमा सांग्रिला होटलमा पनि कमिटी गठनका लागि प्रक्रिया अघि बढाइएको छ।

‘अध्यक्ष दाहाल पक्षले संगठनभित्र हामी (भट्टराई पक्ष) लाई निषेध गर्ने तथा पेल्ने गरेकाले औपचारिक रूपमा श्रम कार्यालयमा मंगलबार नयाँ कमिटी दर्ता गरेका हौं,’ हायातका अध्यक्ष दाहालले नागरिकसँग भने, ‘अखिल नेपाल होटेल मजदुर संघ नाममा ३३६६ नम्बरमा दर्ता भएका छौं।’ संगठनलाई औपचारिक तथा कानुनी प्रक्रियामा बलियो बनाउने उद्देश्यले श्रम कार्यालयमा संगठन दर्ता गरिएको दाहालले जानकारी दिए।

भदौं २९ मा पोखरामा भट्टराई पक्षधरले अध्यक्ष दाहाल पक्षधरले एकलौटी रूपमा सम्मेलन गरेको भन्दै बहिष्कार गरेका थिए। भट्टराई पक्षले बहिष्कार गरे पनि पोखरामा सम्मेलन गर्दै प्रकाश श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी गठन गरेपछि दाहाल र भट्टराई पक्षधरबीच विवाद चर्कदै आएको थियो। पोखरा सम्मेलनलाई वैधानिकता दिने वा नदिने बारेमा पार्टीले दुई महिना बितिसक्दा पनि निर्णय गर्न नसकेकाले समानन्तर कमिटी गठन गरिएको हो।

उपाध्यक्ष भट्टराई लगायत नेताहरूको सहमति र निर्देशनमा समानान्तर कमिटी गठन गरिएको एभरेस्ट होटलका अध्यक्ष होम सुवेदीले बताए। ‘प्रधानमन्त्री लगायत भट्टराई विचार समूहका नेतासँग सल्लाह गरेरै हामीले समानान्तर कमिटी बनाएका हौं’ सुवेदीले नागरिकसँग भने, ‘हायातबाट सुरु भएको कमिटी निर्माण कार्यलाई तीव्रतासाथ अघि बढाइने छ, हायात सुरुआत मात्र हो।’ उनका अनुसार गोकर्ण अधिकारीको नेतृत्वमा सांग्रिला एकाइ दर्ताका लागि श्रम कार्यालयमा प्रक्रिया अघि बढाइएको छ।

उपाध्यक्ष भट्टराई विचारको समर्थन गरेको आरोप लगाउँदै दाहालनिकट मजदुर नेताले संगठनभित्र निषेध गरेको हायातका अध्यक्ष दाहालको दाबी छ। ‘अध्यक्ष प्रचण्ड (दाहाल) का मान्छेलाई संगठनभित्र भट्टराई विचारमा लागेको भन्दै पेल्ने कार्य अझै जारी छ, त्यो नरोकिएपछि बाध्य भएर हामीले विद्रोह गरेका हौं,’ दाहालले नागरिकसँग भने।

About The Author

Loading...

अन्य समाचारहरु: