Wed. Dec 4th, 2024

संविधानमा एकमुष्ट सहमतिको तयारी

B4Vn-ucCYAAy5xw_741016655_723786918

काठमाडौं – प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिनभित्र संविधानका विवादित विषयमा एकमुष्ट सहमति गर्न प्रयास थालेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको कांग्रेस, एमाले, एमाओवादी र मोर्चाका शीर्ष नेताहरूको बैठकले माघ ८ गते संविधान जारी गर्नुपर्ने निष्कर्ष निकाल्दै दुई दिनभित्र सहमति गर्ने प्रयास थालेका हुन्।

संवाद समितिको प्रतिवेदनमाथि मंसिर २९ गते छलफल गर्नुपर्ने भएकाले त्यसअघि सहमति गर्ने निष्कर्षसहित बालुवाटार बैठकले कार्यप्रक्रिया तयार गरेको छ। बैठकमा सहभागी कानुनमन्त्री नरहरि आचार्यले अन्नपूर्णसँग भने, ‘ बिहीबार दिनभर दुईपक्षीय छलफल गरेर शुक्रबार चार पक्ष बसेर सहमति गर्ने कार्य प्रक्रिया तय भएको छ।’

संवाद समितिले सबै प्रस्तावलाई जस्ताको तस्तै संविधानसभामा बुझाएको छ। संवाद समितिमा कांग्रेस(एमालेले सात प्रदेशसहितको संविधानको साझा अवधारणा पेस गरेका छन् भने मधेसी मोर्चाले नौ प्रदेशको प्रतिवेदन पेस गरेको छ।

एमाओवादीले भने १० प्रदेशको संघीय संरचना हुनुपर्ने अडान राख्दै आएको छ। सबैभन्दा बढी विवाद राज्य पुनर्संरचना र राज्यको शासकीय स्वरूपमा देखिएको छ। उच्चस्रोतका अनुसार प्रदेशको संख्यामा सहमति गरेर त्यसको आधार, नामकरण र सीमांकनको जिम्मा भने संघीय आयोगलाई लगाउने विषयमा दलहरू सकारात्मक छन्। बढीमा आठ प्रदेश बनाउन सकिने विषयमा छलफल जारी छ। ुचार पक्षबीच हुने दुईपक्षीय बैठकमा विषयगत रूपमा छलफल हुन्छु, आचार्यले भने।

शासकीय स्वरूपमा भने एमाओवादीले अडान छाड्ने संकेत गरेको छ। कांग्रेस(एमाले र मधेसी मोर्चा शासकीय स्वरूपमा नजिक छन्। मधेसी मोर्चासमेत अधिकांश दलहरूले संसदीय प्रणालीको अवधारणा अघि सारेपछि एमाओवादीले पनि स्वीकार गर्ने संकेत गरेको हो। यसअघि एमाओवादीले राष्ट्रपतीय प्रणालीको अडान राख्दै आएको थियो।

निर्वाचन प्रणालीका विषयमा भने प्रत्यक्ष र समानुपातिक दुवै हुने गरी मिश्रित प्रणालीमा जाने विषयमा दलबीच खासै विवाद छैन। प्रत्यक्षभित्र कसरी समानुपातिक बनाउने भन्ने विषयमा छलफल जारी छ। केन्द्र र संघीय संसद्को संख्यामा पनि सहमति हुन बाँकी छ।

अर्को विवादित विषय न्याय प्रणालीमा पनि दलहरूबीच धेरै विवाद छैन। स्रोतका अनुसार कतिपय विषय संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने भएकाले पनि तत्काललाई सबै दलको साझा दस्ताबेजका रूपमा संविधान ल्याउन दलहरू सहमत हुने देखिएको छ।

यसैबीच संविधान निर्माण प्रक्रियाबारे जानकारी लिन राष्ट्रपति रामवरण यादवले विभिन्न दलका नेताहरूसँग भेटवार्ता सुरु गरेका छन्। मंगलबार संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग भेटेका राष्ट्रपतिले बुधबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। माघ ८ भित्रै संविधान निर्माण गर्न राष्ट्रपतिले आग्रह गरेको दाहालले बताए।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: