Sat. Jul 5th, 2025

चीनले बनायो १४ सय किलोमिटर लामो कृत्रिम नदी

China_Man_Made_River1_270741089

काठमाडौं – तीब्र गतिमा आर्थिक फड्को मारिरहेको चीनले संसारलार्इ नै आश्चर्यचकित पार्ने गरी १४ सय ३२ किलोमिटर लामो कृत्रिम नदी बनाएको छ । चीनकै दोस्रो ठूलो एलो नदीलार्इ डार्इभर्ट गरेर अर्बौँ डलरको लगानीमा निर्माण गरिएको नदीमा शुक्रबारबाट पानीको बहाव छाडिएको छ ।

एक हप्ताअघिमात्र अमेरिकालार्इ उछिन्दै विश्वको पहिलो आर्थिक शक्ति बनेको चीनले कृत्रिम नदी बनाएर संसारलार्इ नै आश्चर्यचकित बनाएको हो । चिनीयाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीन सरकारको बहुचर्चित महत्वाकांक्षी यो योजना दक्षिण उत्तर केन्द्रीय वाटर परियोजनाले बनाएको हो । चीनले विश्वमै पहिलो पटक बनाएको यति ठूलो कृत्रिम नदीले मध्यचीनका सुख्खाग्रस्त क्षेत्रका तीस करोड मानिसलार्इ पानीको अभाव टार्ने बताइएको छ ।
हेनान प्रान्तबाट शुरु हुने यो नदीले मध्यचीन सहितका अन्य भूभागमा पानीको समस्या टार्ने विश्वास चीन सरकारले गरेको छ । चीनको दोस्रो ठूलो एलो नदीबाट साढे नौ अर्ब क्युविक मिटर पानी यो मानव निर्मित नदीमा हालिने बताइएको छ । यो नदी चीनको राजधानी बेइजिङसँग पनि जोडिएको छ ।

३३ अर्ब डलर खर्चेर ११ वर्षमा यो नदी बनाइएको हो । शुक्रबार हेनानबाट यो नदीमा छाडिएको पानीको पहिलो बहाव राजधानी बेइजिङ पुग्न दुर्इ हप्ता लाग्ने बताइएको छ । एलो नदीबाट बग्ने ६ भाग पानी मध्ये एक भाग पानी मानव निर्मित कृत्रिम नदीमा छाडिएको हो ।

कृत्रिम नदी बनाउने क्रममा एक लाख ३० हजार बढी श्रमिक खटिएका थिए । अघिल्लो वर्ष नै परियोजनाको पूर्वी क्षेत्रको १४ सय वर्ष पुरानो ग्राण्ड क्यानलबाट दक्षिणको याङ्गटि देखि स्याङडङ प्रान्तसम्म पानी आपूर्ति गरिएको थियो ।

चीन सरकारले देशका दक्षिणी सहरमा रहेको पानीको अभाव पूर्ति गर्न तीनवटा रुट बनाउने योजना बनाएको छ । चीनले ती रुट बनाउन अझै ८१ अर्ब डलर खर्च गर्ने जनाएको छ ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: