Sat. Jul 27th, 2024

स्मिथ बने अस्ट्रेलियाका ४५ औं कप्तान

 

 

 

 

Smitha_290418916

सिड्नी – क्रिकेट अस्ट्रेलियाले सोमबार राष्ट्रिय टेस्ट टोलीको कप्तानको जिम्मेवारी स्टेभन स्मिथलाई लिएको छ। यसअघिका कप्तान माइकल क्लार्क लामो समयदेखि घाइते रहेकाले उक्त जिम्मेवारी स्मिथलाई दिइएको हो। क्लार्क ढाडको समस्याबाट पीडित छन्।

स्मिथ अस्ट्रेलियन टोलीका ४५ औं टेस्ट कप्तान हुन्। यसैगरी उनी अस्ट्रेलियन क्रिकेटको इतिहासमा तेस्रा सबैभन्दा कम उमेरका कप्तान पनि हुन्। आगामी बुधबार सुरु हुने भारतविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियन टोली पहिलोपटक २५ वर्षीय स्मिथको कप्तानीमा मैदानमा ओर्लने छ।

यसअघि क्रिकेट अस्ट्रेलियाले कप्तानको जिम्मेवारी ३७ वर्षीय अनुभवी खेलाडी ब्राड ह्याडिनलाई दिने अनुमान गरिएको थियो। तर, यसअघि न्यु साउथ वेल्सको नेतृत्व गरिसकेको अनुभव भएकाले चयन समितिले स्मिथलाई उक्त जिम्मेवारी दिएको हो। स्मिथले हालसम्म २३ वटा टेस्टमात्र खेलेका छन्।

अस्ट्रेलियन टोलीको नेतृत्व समाल्ने स्मिथ तेस्रा कम उमेरका खेलाडी हुन्। यसअघि इयान क्रेग २२ वर्ष र किम ह्युग्स २५ वर्षको उमेरमा अस्ट्रेलियन टोलीको कप्तान बनेका थिए। क्लार्क स्वस्थ भएर फर्किएपछि भने स्मिथ उपकप्तानको भूमिकामा रहने बताइएको छ।

अस्ट्रेलियाको एकदिवसीय टोलीका कप्तान भने जर्ज बेली हुन्। स्मिथले टेस्ट क्रिकेटमा ४६.०२ को औसतले कुल एक हजार सात सय ४९ रन बनाएका छन्। उनले सन् २०१० मा टेस्ट टोलीमा डेब्युु गरेका थिए। उनले हालसम्म टेस्ट क्रिकेटमा पाँचवटा शतक बनाएका छन्।

हालै सम्पन्न भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा अविजित एक सय ६२ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा बनाएको यो नै सर्वाधिक एकल स्कोर हो। पहिलो टेस्टमा अस्ट्रेलिया ४८ रनले विजयी भएको थियो। स्मिथले अस्ट्रेलियन टोलीको स्तर अझ माथि उठाउन सक्दो प्रयास गर्ने बताएका छन्। (एजेन्सी )

About The Author

Loading...

अन्य समाचारहरु: