३ पुस, धादिङ-वैदेशिक रोजगारमा गएका र जाने तयारीमा लागेकाहरुलाई सचेत गराउन विभिन्न गतिविधि संचालन गर्दै आएका संघसस्थाहरुले आज धादिङबेसीमा दिप प्रज्वलन गरेका छन् ।
सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने नारासहित विश्व आप्रवासन दिवसको अवसरमा आज संघसस्थाहरुले दिप प्रज्वलन गरेका हुन् ।
सिड्स धादिङ, आवाज अभियान नेपाल, पौरखी नेपाल र सिविस काठमाण्डौको संयुक्त आयोजना तथा सुरक्षित आप्रवासन परियोजना सामीको सहयोगमा धादिङबेशी पुछारबजार चोकमा दिप प्रज्जवलन गरिएको हो ।
अहिले विश्वका एक सयभन्दा बढी देशमा नेपालीहरु पुगेको विभिन्न तथ्यांकहरुले देखाएको छ । श्रम स्वीकृति लिएर विदेश जानेको संख्या गएको कात्तिक महिनासम्म करिब ३५ हजार रहेको श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक छ ।
सरकारको अभिलेखमा नभई विभिन्न देशमा आप्रावासी जीवन बिताउनेहरु पनि थुपै्र रहेको मन्त्रालयको भनाइ छ । बैदेशिक रोजगारका सन्दर्भमा ज्यान गुमाएका धादिङ तथा नेपालभरका युवाहरुको सम्झनामा चिर शान्तीको कामना गर्दै दिप प्रज्जवलन गरिएको सिड्स धादिङका गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।