१६ वैशाख, काठमाडौं – प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई विभिन्न स्थानमा कार्यरत ९ इन्जिनियरलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोप्य सूचनाका आधारमा नक्कली इन्जिनियरलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले ललितपुर गणबहालका अंकित खड्का, नखिपोटका सुवित खड्का, डोटी सिलगढीका हितेश सिंह, खोटाङ बाकसिलाका पुजनकुमार खत्री, काठमाडौं बुढानीलकण्ठका सनत श्रेष्ठलाई पक्राउ गरेको हो।
गणबहालका अंकितको घरमै लामो समयदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाई बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। अंकितले सरकारी कार्यालयको नक्कली छाप र कागजात बनाउने गरेको उनले बताए।
करिब २० भन्दा बढी इन्जिनियरको शैक्षिक प्रमाणपत्र अनुसन्धान भइरहेको खनालले बताए । ‘प्रतिव्यक्ति ५ देखि ७ लाख रुपैयाँसम्म लिने गरेको पाइएको छ,’ उनले भने,‘डाक्टर नक्कली, इन्जिनियर नक्कली अब त अचम्म लाग्न थाल्यो, जनताले कसलाई विश्वास गर्नेरु’
विस्तृत अध्ययन गरे नक्कली इन्जिनियर ठूलो संख्यामा पक्राउ गर्न सकिने उनले बताए। कान्तिपुर दैनिकबाट