Sat. Jul 27th, 2024

राष्ट्रपति रनिङ शिल्डको छनौट खेल फागुनमा हुने

६ पुस, धादिङ-धादिङमा हुन लागेको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियागिताको छनौट खेल आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ ।

 
प्रतियोगितामा जतिसक्दो धेरै खेलाडी सहभागी गराउने उद्देश्यले अघिल्लो वर्ष जस्तै यस वर्ष पनि जिल्ला स्तरीय प्रतियोगिता हुन अघि निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता गर्न लागिएको हो । निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुलाई मात्र जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइने जिल्ला खेलकुद विकास समितिका प्रमुख कृष्णलाल श्रेष्ठले बताएका छन् ।

 
प्रतियोगिताका लागि आगामी फागुन १ गतेदेखि छनोट चरणको खेल हुने धादिङ जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जस अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर ३ को खेल फागुन १ देखि ३ गतेसम्म चन्द्रोदय उच्च मावि विशालटारमा हुने भएको छ । त्यस्तै क्षेत्र नम्बर २ को खेल फागुन ७ देखि ९ गतेसम्म धादिङ आवाशिय उच्च मावि धादिङबेसीमा हुने र क्षेत्र नम्बर १ को खेल फागुन १४ देखि १६ गतेसम्म बसेरी मावि बसेरीमा हुने जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।

 
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी खेलाडीहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सेन्टरमा फारम दर्ता गराउन समितिले आग्रह गरेको छ । निर्वाचन क्षेत्र स्तरीय छनौट खेलमा विजयी खेलाडीहरुले चैत २७ गतेबाट २९ गतेसम्म हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुल प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

 
यथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालय तथा निर्वाचन क्षेत्रले प्रत्येक इभेन्टमा बढिमा २ जना खेलाडीहरुलाई सहभागी गराउन सकिने र एक जना खेलाडीले बढिमा १ फिल्ड, २ ट्रयाक वा २ फिल्ड १ ट्रयाकमा भाग लिन पाउने समितिले जनाएको छ ।

 
प्रतियोगितामा भलिबल, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो लगायतका खेलहरु हुने निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता व्यवस्थापन समिति, क्षेत्र नम्बर २ का संयोजक अमृत तामाङले बताएका छन् । निर्वाचन क्षेत्र स्तरीय प्रतियोगिता व्यवस्थित बनाउन जिल्ला खेलकुद विकास समितिले जिल्लाको तीनै निर्वाचन क्षेत्रमा एक÷एक जना संयोजक तोकेर काम अघि बढाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: