Sat. Jul 27th, 2024

क्रिसमस मनाउन तीन सभासद्‌ले गरे हेलिकोप्टर चार्टर

ca_member_314377281

 

धादिङ – उत्तरी धादिङको विकट क्षेत्र री गाउँ विकास समिति ४ मा क्रिसमस मनाउने कार्यक्रममा सहभागी हुन धादिङ निर्वाचन क्षेत्र नं १ का तीनवटै सांसद हेलिकोप्टर चार्टर गरेर पुगेका छन्। चोके गाउँस्थित हिमालय प्राथमिक विद्यालयको प्रांगणमा शुक्रबार इसाई धर्मावलम्बीहरूले क्रिसमस डे कार्यक्रमम आयोजना गरेका थिए। सोही कार्यक्रममा प्रमुख अतिथि बन्न धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधित्व गर्ने तीनैजना सभासद्हेलिकोप्टर चार्टर गरेर कार्यक्रम स्थल पुगेका हुन्।

राज्यमा धर्म परिवर्तन र धार्मिक स्वतन्त्रतासम्बन्धी चर्को बहस चलिरहेका बेला क्रिसमस डे मनाउन री को चर्चले आमन्त्रण गरेपछि सभासद्हरू एमालेका धनबहादुर घले, कांग्रेसका दिलमान पाख्रिन र राप्रपाका परशुराम तामाङ हेलिकोप्टरबाट कार्यक्रम स्थल पुगेका हुन्।

एमालेका सांसद घलेले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूसहित कार्यक्रममा सहभागी हुन जाने तीनैजना सभासद्को तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन्। फेसबुकमा तस्बिर सार्वजनिक गर्दै सभासद् घलेले लेखेका छन, आज येशु ख्रिष्टको जन्मोत्सवको पावन अवसरमा शुभकामना कार्यक्रममा हेलिप्याडमार्फत री गाविसमा जान लाग्दै हामी सभासद् धनबहादुर घले, परशुराम तमाङ र दिलमान पाख्रिन एअरपोर्टमा।

तीनै सभासद्लाई हेलिकोप्टरमा लैजान री गाउँ विकास समितिमा रहेका विभिन्न चर्चबाट रकम उठाएर चार्टर गरेको इसाई एकता संगतिका पास्टर सूर्यमान विश्वकर्माले बताए।

आठवटा मात्र विद्यालय भएको री गाविसमा तीन दर्जनभन्दा बढी चर्च रहेको बताइएको छ। गत वर्ष पनि यसै कार्यक्रममा एमालेकै सभासद् गुरुप्रसाद बुर्लाकोटीलगायत अतिथिलाई चर्चले हेलिकोप्टर चार्टर गरेरै कार्यक्रम स्थल लगेको थियो।

पछिल्लो समय धादिङ निर्वाचन क्षेत्र १ का अधिकांश गाउँमा इसाई धर्मावलम्बीहरू बढ्दै गएका छन्। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कादुरीले विभिन्न विकास निर्माणका काम लिएर गाउँगाउँ गएपछि धर्मावलम्बीहरू बढेको स्थानीय बताउँछन्। कादुरीले धादिङका विकट गाविसमा मोटरबाटो, खानेपानी, झोलुंगे पुल, विद्यालयलगायत क्षेत्रमा सहयोग पुर्‍याएको छ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: