शंकर श्रेष्ठ
७ पुस,धादिङ- मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव आजबाट धादिङबेसीमा सुरु भएको छ ।
‘घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।आजबाट पुष १७ गतेसम्म चल्ने महोत्सवको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।
मध्यमाञ्चल क्षेत्र भित्रका पर्यटकीय क्षेत्र, घरेलु उद्योग र कृषि क्षेत्रको विकास र समृद्धिका लागि आयोजना गरिएको महोत्सवमा दुई सय भन्दा धेरै स्टलहरु राखिएका छन् ।
महोत्सवमा विभिन्न जङ्गली जनावर रहेको चिडियाघर र जनचेतनामूलक चलचित्रहरु प्रमुख आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा अस्ट्रिज जातको चरा, गोही, अजिङ्गर लगायतका जनवारहरु अवलोकको लागि राखिएका छन् । त्यसैगरी घरेलु उद्योग तथा कृषि प्रदर्शनी, हस्तकलाका सामाग्री, पुरातात्विक तथा धार्मिक सामाग्रीहरु प्रदर्शनमा छन् ।
महोत्सवमा अटो मोबाइल, जाडोमा लगाउने लत्ताकपडा, घरेलु उद्योगका सामाग्रीहरु पनि विक्रिका लागि राखिएका छन् । होटल व्यवसाय, विभिन्न प्रकारका फेन्सी सामाग्री, इलोक्ट्रिोनिक सामाग्रीहरु विक्रिका लागि राखिएको महोत्सवबाट १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सव स्थल प्रवेशका लागि साधारण ५० रुपैया र विद्यार्थीहरुका लागि ३० रुपैयाको टिकट व्यवस्था गरिएको धादिङ उद्योग वाणिज्य संघ प्रशासकिय अधिकृत रोहीत भण्डारीले जानकारी दिनुभयो ।