Sat. Jul 27th, 2024

एमालेले पुस-१८ गते देशभर सभा गर्ने

image

७ पुस, काठमाडौ-एमालेले माघ-८ भित्रै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सिर्जना तथा पार्टीको धारणा स्पष्ट पार्न पुस १८ गते मुख्य सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ ।

एमाले सचिवालयको सोमबारको बैठकले भेला गर्ने निर्णय गर्दै त्यसको कार्यक्रम सार्वजनिक गरेको हो । महासचिव इश्वर पोखरेलका अनुसार प्रमुख सहरहरुमा हुने भेलामा पार्टीका पदाधिकारीहरुले मुख्य सम्बोधन गर्नेछन् ।

जनकपुरमा अध्यक्ष केपी ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्जमा नेता माधवकुमार नेपाल, नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम र पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन् ।

त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले धनगढी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महेन्द्रनगर, उपाध्यक्ष भिम रावलले बुटवल र महासचिव इश्वर पोखरेलले लाहानको भेलालाई सम्बोधन गर्नेछन् । उपमहासचि विष्णु पौडेलले चितवन, उपमहासचिव घनश्याम भुसालले सुर्खेत, सचिव प्रदीप ज्ञवालीले हेटौडा, सचिव पृथ्वीसुब्बा गुरुङले धनकुटा, सचिव गोकर्णराज विष्टले बाग्लुङ र सचिव योगेश भट्टराईले डोटीको भेलालाई सम्बोधन गर्ने एमालेले जनाएको छ । विभिन्न जिल्लामा हुने कार्यक्रमहरुलाई पोलिटब्युरो , केन्द्रिय सदस्य, सभासद् र नेताहरूले सम्बोधन गर्ने छन् ।

एमालेले कार्यक्रम संयोजनको जिम्मेवारी सम्बन्धित अञ्चलका इन्चार्जहरुलाई दिएको छ । माघ ८ मा संविधान जारी नभए मुलुकमा झन् संकट बढ्ने ठहर गर्दै त्यसका लागि दवाव सिर्जना गर्नुपर्ने निष्कर्ष एमालेको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकले पनि सहमति नभए प्रक्रियाबाट भए पनि माघ ८ मै संविधान जारी गर्नुपर्ने धारणा बनाएको थियो ।
(इ-कान्तिपुर अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: