धादिङको प्रत्येक गाँउ विकास समितिहरुमा स्वास्थ्य संस्थाहरु रहेका छन् तर पनि ग्रामीण क्षेत्रका मानिसहरु दिनहुँ लगाएर सदरमुकाममा नै उपचारका लागि आउने गरेको पाइन्छ । सरकारले पनि प्रत्येक जिल्लाहरुमा स्वास्थ्य संस्थाहरु खोलिरहेको छ । र यसै आर्थिक वर्षदेखि ७५ खालका औषधीहरु निशुल्क रुपमा प्रदान गर्ने निर्णय गरेको छ । धादिङमा अहिले ३३ वटा स्वास्थ्य चौकी, १६ वटा उपस्वास्थ्यचौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ११ ठाँउमा स्वास्थ्य सेवा विन्दुु रहेको छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङले पनि विभिन्न समयमा स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ । धादिङमा संचालन भइरहेको स्वास्थ्य सेवाहरु, समस्याका विषयमा विगत ३३ वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आउनुभएका जिल्ला स्वास्थ्य कार्यलय धादिङका खोप अधिकृत शरद आचार्यसँग पाविलका सरिता श्रेष्ठले गर्नुभएको कुराकानी :
धादिङको स्वास्थ्य प्रणालीलाई कसरी नियाल्नु भएको छ ?
राजधानी नजिकको जिल्ला भएतापनि धादिङका ग्रामिण क्षेत्रका जनताहरु सरकारले दिएको निशुल्क स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । यसो हुंदा हुंदै पनि स्वास्थ्य क्षेत्रमा प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक स्वास्थ्य सेवा समुदायको सहभागिता, विकेन्द्रिकृत प्रणाली लगायतका कुरालाई विशेष ध्यान दिंदै आफ्नो कार्यलाई निरन्तर अगाडि बढाएको छ । धादिङको हकमा सम्पूर्ण गा.वि.स.हरुमा स्वास्थ्य संस्थाहरु स्थापना भएका छन् । स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन हरेक गा.वि.स. इलाकाहरुमा आमासमुहहरु, महिला स्वंयसेविकाहरुको पनि सहयोग पाएका छौं । अहिलेको सन्र्दभमा भन्नुपर्दा रोग लागेर मात्र नभइ रोग नलाग्दा समेत स्वास्थ्य परीक्षणका लागि आउने गर्दछन् । यो खुसीको कुरा लाग्छ ।
स्वास्थ्य कार्यलय धादिङले जनताहरुलाई कसरी सेवा दिने गरेको छ ?
धादिङ जिल्ला उत्तरमा लापा, सेर्तुङ, दार्खा र दक्षिणमा जोगिमारा लगायतका सबै ठाउँमा स्वास्थ्य क्षेत्रलाई प्रचार गर्न हामीले कुनै पनि कसुर बाँकी राखेका छैनौं । धादिङमा अहिले ३३ वटा स्वास्थ्य चौकी, १६ वटा उपस्वास्थ्य चौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेका छन् । त्यसमा पनि २२५ वटा खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालन हुन्छ । त्यस्तै २९१ वटा गाउँघर क्लिनीकबाट सेवा प्रदान हुन्छ भने ४६३ जना महिला स्वास्थ्य स्वंयसेवीकाहरु मार्फत स्वास्थ्य सेवा प्रदान गरिंदै आइरहेका छौं ।
तपाईं खोप अधिकृत पनि हुनुहुन्छ, कसरी सञ्चालन गरिरहनु भएको छ ?
खोप कार्यक्रमलाई जिल्ला स्वास्थ्य कार्यलयले नजिकवाट नियालेर सेवा दिइरहेको छ । १ वर्ष मुनिका बालबालिकाहरुलाई विसिजी खोप, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस, पोलियो, दादुरा, रुवेला, लगायतका रोग विरुद्ध छुट्टाछुट्टै खोप सेवा प्रदान गरिरहेको छ । त्यसमा १ वर्ष मुनिका सबै बालबालिकाहरुलाई २२५ वटा खोप केन्द्र मार्फत प्रत्येक महिना सेवा प्रदान गरिरहेका छौं । त्यस्तै गर्भवती महिलाहरुलाई टि.टी. खोप सेवा पनि उपलब्ध गराइरहेका छौं ।
स्वास्थ्य प्रणाली राम्रो भएपनि कार्यान्वयन पक्ष कमजोर भयो भन्ने बुझिन्छ नी, तपाईंलाई कस्तो लाग्छ ?
काम गर्दै जाँदा कमीकमजोरी हरेकमा उत्पन्न हुन्छ । त्यो मानवीय गुण हो, तैपनि हामीले हाम्रो तर्फबाट कुनै पनि कसुर बाँकी नरहने गरी काम गर्ने गरिरहेका छौं । कतिपय ठाउँहरुमा भौतिक पूर्वाधारहरुको कमी छ । हाम्रो आफ्नो संरचनाहरु पनि छैन । भवन छैन, व्यवस्थापन छैन, दक्ष तालिम प्राप्त जनशक्ति पनि छैन, हामीसंग भएको सिमित स्रोत साधनलाई अधिकतम रुपमा प्रयोग गर्ने कार्य हामीले गरिरहेका छौं ।
जिल्ला स्वास्थ्य कार्यालय सदरमुकाम केन्द्रित भयो भन्ने गुनासा छन् नी ?
कतिपयको बुझाइ मात्र होला यो । तर, हामी उत्तरी देखि दक्षिणसम्म हरेक गा.वि.स.मा गएर प्रत्यक्ष रुपमा नै स्वास्थ्य सेवा दिइरहेको हुन्छौं । जुन सेवा धादिङवेसीका जनताले पाउँछन् त्यहि सेवा तिप्लिङका, जोगिमाराका जनताले पाउँछन् । सदरमुकाम मात्र होइन हरेक ठाउँहरुमा हाम्रो जनशक्ति खटिएका छन् । हामीले विभेद गरेका छैनौँ ।
स्वास्थ्यकर्मी विदेश पलायन हुने अवस्था छ नी ? कसरी रोक्न सकिन्छ ?
नेपालमा धेरै स्वास्थ्य संघ संस्थाहरुमा दरवन्दी खाली भएपनि त्यो पूर्ण हुन सकेको छैन । प्रत्येक वर्ष धेरै जनशक्तिहरु उत्पादित हुन्छ । तर दरबन्दि नभएका कारण आफ्नो काम प्रति आकर्षण हुन सकेका छैनन् । नेपालमा धेरै जनशक्तिहरु उत्पादित छ । तर त्यसलाई सही तरिकाले अवसर सृजन गर्न नसक्नु ठूलो समस्याको रुपमा कहलिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाका कुरा, पारिश्रमीक सेवा, सुविधा कम भएर पनि यस्ता समस्या निम्तिएको छ । यस्ता समस्यालाई हामीले नीति तहदेखि नै सोच्नु जरुरी छ । यसबाछ केही हदसम्म पनि विदेश पलायन क्रम रोकिएला ।
स्वास्थ्य क्षेत्रमा व्यापारीकरण र नीजिकरणलाई कसरी प्रष्टयाउनु हुन्छ ?
वर्तमान समयमा स्वास्थ्य क्षेत्रमा नीजिकरणको लहर चलेको छ । स्वास्थ्यकर्मीहरुले आफ्नै लगानिमा स्वास्थ्य संस्थाहरु खोलिदिने र जनतालाई आकर्षित गर्ने कार्य भइरहेको छ, यसलाई हामीले नकार्न सक्दैनौं । हुने खानेका लागि त केही समस्या भएन तर हुंदा खानेहरु, गरीब वर्गका मानिसहरुका लागि यो विकराल समस्याको रुपमा हुन्छ । अहिले स्वास्थ्यलाई नाफा मुखी पनि गर्न थालेका छन् । विभिन्न नर्सिङ क्लिनिकहरु खोलेका छन् । यस्ता संस्थाहरु खोल्नु नै हुदैन भन्ने चाहीं होएन तर जनतामुखि हुनुपर्छ, जनतालाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा प्रदान गरेको हुनुपर्छ नाफामुखी नभइ सवेमुखी हुनुपर्छ ।
नयाँ स्वास्थ्य योजनाहरु के छन् ?
पहिलो कुरा त स्वास्थ्य सेवालाई सर्वव्यापी निशुल्क गर्नुपर्छ, यसमा सबैको ध्यान जानुपर्छ, जिल्ला स्वास्थ्य कार्यालय पनि यसमा विशेष जोड दिएको छ । नेपाल सरकारले यसै वर्षदेखि ५० किसिमका औषधीहरु निशुल्क रुपमा प्रदान गर्ने निर्णय गरेको छ । गाउँ–गाउँमा प्रभावकारी रुमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने योजनाहरु रहेको छ ।
(पाविल साप्ताहिकमा प्रकाशित)