२२ जेठ, चितवन– स्थानीय प्रशासनले आफ्ना तीन सदस्यलाई झुटा मुद्दा लगाएको भन्दै यहाँका औषधि व्यवसायीले आज सम्पूर्ण औषधि पसल बन्द गरेर विरोध जनाएका छन् ।
नेपाल औषधि व्यवसायी सङ्घ चितवनका अध्यक्ष शिवप्रसाद पण्डितले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि फार्मेसी सञ्चालन गरेका रक्षा फार्मेसीका राजेन्द्र तिवारी, तिर फार्मेसीका रामचन्द्र पौडेल र सुस्वास्थ्य मेडिकलका कृष्णप्रसाद खनाललाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि आफूहरु आन्दोलित हुनु परेको बताए।
फार्मेसी पछाडि अरुको स्वामित्वमा रहेका ल्याब तथा डेण्टल क्लिनिकमा सञ्चालक नभेटेको भन्दै प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप छ ।
पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । त्यसको साङ्केतिक विरोधको रुपमा शनिवार र आइतवार दिउँसो १ बजेसम्म फार्मेसी बन्द गरेर विरोध जनाइने उनले बताए । जिल्लामा झन्डै ४०० औषधि पसल रहेका छन् । रासस