२६ जेठ, चितवन – पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
राति १२ बजे वर्षासँगै खसेको पहिरोका कारण बन्द भएको सडक बिहान ३ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उक्त खण्डअन्तर्गत चण्डिभञ्याङ–६ स्थित कालीखोलामा खसेको पहिरो डोजरको सहयोगमा पन्छाएपछि बिहानदेखि बाटो खुला भएको हो। राति रोकिएका गाडी बिहान गन्तव्यतर्फ लागेका छन्।
यसअघि पहिरोका कारण उक्त सडक मङ्गलबार पटकपटक बन्द हुन पुगेको थियो। नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ। रासस