१ असार, धादिङ - यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल भोलि बिहिबार सार्वजनिक हुँदैछ।
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो।
पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ। यस्तै ग्रेस माक्र्स दिने ब्यवस्था पनि हटाउने भएको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार एसएलसीको नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित हुने भएकाले विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण हुँदैनन्। त्यसैले ग्रेस माक्र्सको व्यवस्था हटाइएको हो।
यो वर्ष पास, फेल र डिभिजन हुने छैन । यो बर्ष विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् ।
ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । यो व्यवस्था वेभसाइट मार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ । एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् ।
त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी (moe.gov.np), शिक्षा विभागको डीओई डट जिओभी डट एनपी (doe.gov.np ), परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी ( soce.gov.np ) , नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटी ( slc.ntc.net) बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
यस मध्ये नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त गर्यो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिन्छ ।