७ असार, धादिङ – धादिङको किराञ्चोक गाविसमा विद्युतिकरणको काम तीब्र गतिमा सञ्चालन गरिएको छ ।
नेपाल सरकारको सामुदायिक विद्युतिकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको हो । वि.स. २०६८ सालमा स्थापना भएको बेल्खु खोला ग्रामीण विद्युत सहकारी संस्थाको पहलमा नेपाल सरकारकोे ९० प्रतिशत र स्थानीय बासिन्दा, जिबिस, गाबिस लगायत विभिन्न संघ संस्थाको सहयोगको १० प्रतिशत गरि ८ करोड ५४ लाखमा योजना सम्पन्न हुने बेल्खु खोला ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष हरिशरण तामाङले जानकारी दिए ।
गाउँमा विजुली बत्ती बल्ने भएपछि त्यहाँका स्थानियहरु खुसी भएका छन् । कति रातहरु सल्लाको दियालो बालेर बितायौं, अन्धकारमा टुकी बालेर बस्नु पर्ने समस्याबाट मुक्ति मिल्ने भो किराञ्चोक–५ थुम्किडाँडा निवासी बिबि माया तामाङले खुशी साटिन् । जय दुर्गे जेबि कन्सट्रक्सन प्रालि त्रिपुरेश्वर काठमाडौले योजनाको ठेक्का लिएको र हाल तीब्र गतिमा काम भइरहेको अध्यक्ष तामाङले बताए ।
गत बर्ष नै बत्ती बालिसक्नु पर्ने भएता पनि गत बर्ष गएको बिनाशकारी भुकम्पको कारण काम केही ढिला भएता पनि अबको २ महिना भित्र सबै काम सकिने तामाङको भनाई छ । परियोजनाबाट किराञ्चोक गाविसको १ हजार ३ सय ९३ घरधुरीका साथै पीडा गाविस अन्तर्गत वडा नम्बर ६ का सिमान्तकृत १ सय ५० घरधुरी चेपाङ समुदाय पनि प्रत्यक्ष लाभान्बित हुने बताइएको छ ।