८ असार, धादिङ – “पाँच महिना भयो फोन नगरेको, मेरो छोरो के गर्दै होला ? धादिङ कुम्पुर गाविस वडा न. ५ की लालमाया श्रेष्ठले गहभरी आशु बनाउदै आफ्नो दुख पोखिन् । उनी घरीघरी छोरो सम्झेर झक्कानिएर रुन्छिन् । मलेसियामा रहेका छोरा दिलबहादुर श्रेष्ठ ५ महिना यता सम्पर्कमा छैन । आमा मलाई यहाँ बस्न मन छैन, जेठसम्ममा त जसरी नी घर आउँछु । ५ महिना अगाडि अन्तिम पटक छोराले फोनमा यस्तो भनेका थिए । दिलबहादुरका दुई दाजुहरु पनि मलेसियामा नै कार्यरत छन् । दाजुहरुसँग पनि कुनै सम्पर्क छैन ।
परिवारको आर्थिक भार सम्हाल्न नसकेर कान्छा भाईलाई जिम्मा लगाई दिलबहादुर ५ वर्ष अगाडि मलेसिया गएका थिए । सुरु सुरुमा त राम्रै कमाई थियो तर पछि नराम्रो भयो । उनी यस भन्दा पहिले पनि हराएका थिए । उनको हराएको बारे विभिन्न सञ्चार माध्यममा सुचना सामग्री प्रकाशित प्रशारित भएपछि उनी सम्पर्कमा आएका थिए ।
बाबु तैले किन फोन नगरेको त भनेर आमाले सोध्दा यहाँ मेरो सबै पैसा लुटियो, सम्पर्कमा आउन सकिन भन्थे लालमाया भन्छिन् ।
उनी यहाँ पोल्ट्रि फाममा काम गर्नका लागि गएका थिए । काम गर्ने कम्पनीको नाम आएन मास कम्पनी हो जुन पोर्टक्लङ पासापुरी भन्ने ठाँउमा छ । सुरुवातमा काम र दाम दुबै सन्तोषजनक नै थियो । उनले घरमा रहेका आमा बुबालाई पैसा पनि पठाइदिएका थिए । विदेश गएको ३ वर्षपछि उनी सम्पर्क विहिन भए ।
फोटो समाउदै छोरालाई खोजीदिन उनी विभिन्न संघसंस्था धाइन् तर छोरो भेटिएन । छोरा हराएको बारेमा विभिन्न संचार माध्यम मार्फत समाचार प्रकाशित भएपछि बिदेशमा रहेका उनको साथी मार्फत दिलबहादुर सम्पर्कमा आए ।
बिरामी भएका बाबुलाइ छोडेर बिदेशिएका दिल बहादुर, बुबा बितेको एक बर्ष भइसक्दा पनि घर फर्किएका छैनन् । ५ महिना अघिसम्म त पैसा पनि पठाएको थियो, “घरमा सुत्केरी हुन लागेकी कान्छी बुहारी र आमा तपाइको लागि” भनेर । आमाले ७० हजार पैसा बुझिलिएको भौचर देखाउदै भनिन् ।
बैशाख वा जेष्ठको पहिलो हप्ता सम्म जसरी नी घर आउँछु भनेका थिए तर जेष्ठ महिना बितेर असार लागि सक्दा पनि नआएपछि आफ्नो दुखेसो पोख्न लालमाया आवाज अभियान नेपालमा आइपुगिन् । पहिले हराउदा पनि हजुरहरु मार्फत नै भेटिएको हो, फेरी मेरो छोरो खोजीदिनुहोस् न लालमायाले आग्रह गरिन् ।
छोराले आमा भनेको सुन्न पाएपनि म बुढिआमाको मनमा शान्ति मिल्थ्यो अनि आन्नदको सास फेर्न पाँउन्थे ।