Tue. May 13th, 2025

विद्यार्थी बेहोस हुन थालेपछि धादिङको एक विद्यालय बन्द

mahakali-h-s-s
१२ असार,  धादिङ – विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरु बेहोस भएर ढल्न थालेपछि धादिङको एक विद्यालय बन्द गरिएको छ ।

धादिङको कुम्पुर गाविस वडा नं ७ पीपलटारमा रहेको महाकाली माविका विद्यार्थीहरु बेहोस भएर ढल्न थालेपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएको हो ।

कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु बढी बेहोस हुने गरेका छन् । बेहोस भएपछि कराउने, छटपटाउने, चिच्याउने लगायतका क्रियाकलापहरु गर्ने गरेको विद्यालयका शिक्षक जनक आचार्यले जानकारी दिए ।

विद्यार्थी बेहोस भएपछि उनीहरुका अभिभावकले स्वास्थ्य संस्थामा जाँच गराउन लगेका थिए तर जाँच गराउँदा शरीरमा कुनै रोग नभएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

सुरुका १/२ दिनमा २/३ जना विद्यार्थी बेहोस भएर ढलेका थिए । अहिले दिनमा १५/२० जना बेहोस हुने गरेको विद्यालयले जनाएको छ । यसरी बेहोस हुने मध्ये छात्राहरु बढी रहेका छन् । कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेका छन् ।

विद्यालयमा यस्तो समस्या देखिन थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसी शुक्रबारबाट विद्यालय बन्द गरिएको छ । यस विद्यालयमा अघिल्ला वर्षहरुमा पनि विद्यार्थीहरु एक्कासी बेहोस भएर ढल्ने समस्या देखिएको थियो ।

विद्यार्थीहरुमा देखिएको यस्तो समस्यापछि आइसीडिसी धादिङले मनोपरामर्श पनि दिएका थिए तर त्यसले केही कमी नभएको विद्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: