१८ असार, रीगाउँ (धादिङ) – बुधवार रातीको अविरल बर्षापछि चारैतिरबाट पहिरो गएर अति जोखिममा रहेको उत्तरी धादिङको री गाविस वडा नं ९ चेप्राङका स्थानिहरुलाई खराव मौसमका कारण उद्धार गर्न सकिएको छैन ।
पहिरोले नै छोएका ८ वटा घरका स्थानियहरु पहिरो नजिकै रहेको गाउँकै अन्य घरहरुमा बस्न गएका छन । चारैतिरको पहिरोले गाउँ नै असुरक्षित रहेकाले सवैलाइ उद्धार गरेर अन्यत्र लैजानको लागि हेलिकप्टर जान नसक्दा समस्या भएको हो । लगातारको बर्षा र बर्षा पछिको बाक्लो कुहिरोका कारण उद्धारको लागि पठाउन लागिएको हेलिकप्टर जान नसकेपछि उनीहरुको उद्धार हुन नसकेको हो ।
तत्काल उद्धार सम्भव नभएपनि उनीहलाइ गाउँकै सुरक्षित स्थानमा रहन आग्रह गरिएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । ‘गाउँको चारैतिर पहिरो गएको हो, गाउमा पहिरोले कुनैपनि मानविय क्षति र घरहरु नवगाएको भएपनि लगातार परिरहेको अविरल बर्षाका कारण फेरी ठुलो क्षति हुन सक्ने आँकलन गरेर उद्धार प्रयास गरिरहेका छाँै ।’
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक विश्व प्रकाश सुवेदीले भने, ‘तत्काल उद्धार हुन नसकेपनि अहिले ठुलो जोखिम भने देखिएको छैन, तर मौषममा सुधार आउने वित्तिकै उनीहरुलाइ गाउँबाट सुरक्षित स्थानमा लैजानेछौँ ।’ जिल्ला प्रहरी कार्यलय धादिङको समन्वयमा दार्खास्थित प्रहरी चौकीबाट गाउँ नजिकै प्रहरी पनि पठाइएको प्रजिअ सुवदीले जानकारी दिए । विहीवार टेलिफोनबाटै पहिरो गएको जानकारी आएको भएपनि शुक्रवार अवेरसम्म गाउँमा सन्चार सम्पर्क हुन सकेको छैन ।
गाउँ वरिपरि चारैतिरबाट पहिरो जान थालेपछि चेप्राङ गाउँ पुरै जोखिममा परेको थियो भने पहिरोले छोएका ८ वटा घरधुरीका १६ सदस्य पहिरोका वीचमा फसेका थिए । अहिले उनीहरु चेप्राङ गाउँकै पहिरो नखसेको ठाउँमा बसेका छन । चेप्राङ गाउँमा पहिरो गएको थाहा पाउने वित्तिकै नेपाली सेनाले बनाउदै गरेको सामुहीक आवास निर्माणको सामान ओर्सान प्रयोग गरिएको हेलिकप्टर लिएर जिल्लाका सुरक्षा निकाएका प्रमुखहरुले गाउँको हवाइ अवलोकन गरेर आएपछि जिल्ला दैवि प्रकाप उद्धार समितिको आपतकालिन बैठकमा गाउँ पहिरोको उच्च जोखिममा रहेको जानकारी गराउदै तत्काल त्यहाँका स्थानियहरुलाइ अन्यत्र लैजाने निर्णय भएको थियो । तर त्यसपछि लगातार परेको झरी र बाक्लो हुस्सुको कारण हेलिकप्टर जान सकेको छैन ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्प पछि धादिङको री गाविसमा सवभन्दा धेरै पहिरो गएको थियो । सवैभन्दा धेरै स्थानियहरु पनि रीगाउँ बाटै विस्थापित भएका थिए, री गाविसमा मात्रै ६७ जनाले ज्यान गुमाएका थिए । भुकम्पपछि स्थलगत अध्ययनका लागि गएका भुगर्भविदहरुले पनि री गाविसलाइ जोखिमको गाविस भनेका थिए । री गाविसमा मात्रै वैशाख १२ को विनाशकारी भुकम्पपछि साना ठुला गरि ३ दर्जन भन्दा धेरै पहिरो गएका थिए ।