६ साऊन, धादिङ- उत्तरी धादिङको लापा गाउ विकास समिति वडा नम्वर ३ नेवेरका स्थानीयहरु हिजोआज अलैची खेतितर्फ आकर्षित भएका छन् । अलैची खेतिको लागि उपयुक्त हावापानी भएको र बजारमा अलैंचीको माग पनि बढेकोले लापा नेवेरका किसानहरु अलैंची खेतितर्फ आकर्षित भएका हुन् ।
अहिले लापा नेवेरका स्थानीयहरुले गाउको खाली रहको हिलोखर्क भन्ने ठाउमा अलैंचीको बोट लगाउन सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय धादिङको सहयोग तथा नमस्ते ग्रामीण विकास समाज र पारामेन्दो कृषक समूहका सदस्यहरुको सकृयतामा गाउको हिलोखर्कमा अलैंची खेति सुरु गरिएको छ ।
विगत ५ वर्ष अघि मात्रै पहिलोपटक स्थानीय यमकुमार तामाङले आफ्नो खाली जग्गामा अलैंचीको विरुवा लगाएका थिए । तामाङले लगाउनुभएको अलैंचीले राम्रो उत्पादनसँगै राम्रो आम्दानी भएको र एक पटक लगाएपछि लामो समयसम्म उत्पादन दिने भएपछि व्यवसायिक रुपमै अलैंची खेति सुरु गरिएको पारामेन्दो कृषक समूहका अध्यक्ष टिसमान तामाङले बताए ।
अलैंची खेतिको लागि जिल्ला कृषि विकास कार्यालय धादिङले १ हजार, नमस्ते ग्रामीण विकास समाजले ३ हजार विरुवा अनुदानमा उपलब्ध गराएको थियो भने पारामेन्दो कृषक समुहका सदस्यहरुबाट रकम संकलन गरि ७ हजार विरुवा किनेर गाउको २ हेक्टर क्षेत्रफल जमिनमा अलैंचीको विरुवा रोपिएको तामाङले बताए ।
अन्य खाद्यान्न बालीबाट भन्दा अलैंची खेतिबाट राम्रो आम्दानी हुनेदेखेपछि व्यवसायिक रुपमै अलैंची खेति सुरु गरेका किसानहरुको आगामी दिनमा हिलोखर्कको १० हेक्टर क्षेत्रफलमा अलैंची खेति विस्तार गर्नुका साथै गाउमै अलैंची नर्सरी विस्तार गर्ने लक्ष्य रहेको कृषक समूहका सचिव रेशेप तामाङले जानकारी दिए ।