सरिता श्रेष्ठ / १४ साउन, धादिङ – धादिङ जिल्ल्लामा ११ गाँउपालिका हुने गरी प्रस्तावित खाका तयार गरिएको छ ।
गाँउ पालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग काठमाडौँले धादिङ जिल्लामा ११ वटा गाँउपालिकाको प्रस्तावित खाका सार्वजनिक गरेको हो । धादिङ जिल्लामा हाल १ वटा नगरपालिका र ४६ वटा गाँउ विकास समितिहरु रहेका छन् ।
जिल्ला विकास समितिको कार्यलय धादिङमा शुक्रबार भएको प्रारम्भिक कार्यशालामा गाँउपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायक्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणसम्बन्धीका विषयमा जिल्लाका राजनैतिक दल, सरकारी कार्यलय, सरोकारवाला निकायहरुलाई जानकारी गराइएको छ ।
कार्यक्रममा स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त र मापदण्ड, समितिको काम, कर्तव्य, मापदण्ड लगायतका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कार्यपत्र मार्फत जानकारी दिए ।
त्यस्तै स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले विभिन्न मापदण्डका आधारमा तयार पारेको खाकाका बारेमा जानकारी गराइएको छ । नेपालको संविधानको धारा २९५(३) बमोजिम गठित गाँउपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग जिल्ला विकास समिति धादिङका योजना अनुगमन तथा प्रशासकिय अधिकृत युवराज अर्यालले जानकारी दिए ।
निमिक्त स्थानीय विकास अधिकारी एवम् प्रमुख जिल्ला इन्जिनियर भरत प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा माननिय सांसद राजेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बुर्लाकोटी, धनबहादुर घले, दिलमान पाख्रिन, पूर्व सांसदहरु रामनाथ अधिकारी, शालिकराम जम्कटेल, कल्पना धमला, बीरबहादुर तमाङ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।