शंकर श्रेष्ठ / १९ साउन, धादिङ – धादिङ गोगनपानीकी ४ वर्षिय बालिका घर नजिकै मकैबारीमा मृत भेटिएकी छिन् । साउन ३ गते बिहानबाट हराइरहेकी बालिका साउन १० गते घर भन्दा माथि च्यानडाँडाको मकै बारीमा मृत भेटिएकी हुन् ।
गोगनपानी गाविस वडा नम्बर ३ की ४ वर्षिय दलित बालिकालाई गाउँकै एक बालकले खनायो टिपेर खान दिन्छु भन्दै बारीमा लगेर बलात्कारपछि हत्या गरेको परिवार श्रोतले आरोप लगाएका छन् । आरोपीलाई कारबाहीको माग गर्दै परिवारले प्रहरीमा उजुरी गरेपछि गाउँकै एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक बालिकाको ६ जना दिदिबहिनी छन् । स–साना बच्चाहरुलाई घरमा छाडेर काम गर्न सक्नेजति खेतमा काम गर्न गएको र बेलुका फर्कदा घरमा कान्छी छोरी नभेटिएको मृतक बालिकाको बाबुले बताए । ‘बेलुका घर आउँदा बच्चा घरमा थिएन, सोधखोज भयो, छरछिमेक घर वरिपरी कतै भेटिएन, ७ दिनपछि मकै बारीमा लाश भेटियो ।’ १० गते विहान छिमेकीको मकै बारीमा बच्चाको कुहिन थालिसकेको लाश भेटिएको थियो ।
मृतक बालिकाको बाबुले भने, ‘मेरो ७ वटा छोरीहरु छन् । काम गर्न सक्ने काम गर्न गएका थिए । एउटी छोरी विरामी थिई । उसलाई पखाला लागेको थियो । बहिनी नपीट भनेर धान चुट्नको लागि खेतमा गएको थिए । देउराली भन्ने ठाउँमा बच्चा खेल्न आएको रहेछ । त्यो बेलामा खनायो खाँदै थिए रे, केटोले यहाँ खनायो पाकेको छैन, अन्तै पाकेको छ भनेर त्यहाँबाट मानिसले नदेख्ने बाटो खनायो टिपिदिन्छु भन्दै फकाएर लगेर मेरो छोरी मारेछ पापीले ।’ घटनाका आरोपीले यस अघि पनि चोरी गरेर गाउँमा दुई पटक नराम्रो काम गरेर उदण्ड मच्चाउने गरेको बताइएको छ ।
१० गते विहान च्यानडाँडा भन्ने ठाउँको मकै बारीमा घाँस काट्न जाँदा गन्ह्याएपछि खोजी गर्दा लाश भेटिएको हो । लाश भेटिएपछि स्थानीय र पीडित परिबारले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा झारपात माडिएको, मकैका बोटहरु समेत भाँचिएको र बच्चाको सहित दुई ओटा भित्री कपडा (कट्टु) भेटिएकोले बलात्कार गरि हत्या गरिएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले भने यस घटनामा दुबै पक्ष बालबालिका भएको र घटनाको अनुसन्धान भइरहेकोले सबै विवरण सार्वजनिक गर्न नमिल्ने जनाएको छ । घटना अनुसन्धान पुरा भएपछि कानून बमोजिम कारबाहीको प्रकृयामा जाने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।