Sat. May 17th, 2025

गोरखामा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान

Gorkha-District

२० साउन,  गोरखा – गोरखामा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ । गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा यन्त्र जडान गरिएको हो ।

हालै गएको पहिरोमा परी तीनजनाको मृत्यु भएपछि पहिरोबाट थप मानवीय तथा भौतिक क्षति नहोस् भन्नका लागि सूचना दिने यन्त्र साइरन जडान गरिएको केरौँजा माविका शिक्षक सञ्जय ढकालले जानकारी दिए ।

नुवाकोट जिल्लाको मदानपुर गाविसका युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले निर्माण गरेको प्रविधि साइरन महावीर पुनको आग्रहमा केरौँजाको मुख्य बस्तीमा जडान गरिएको हो । गाउँमा सो प्रविधि जडान गरेपछि ४२५ टहरोमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् ।

पहिरो जानसक्ने जोखिमयुक्त ठाउँमा जमिनको भित्री सूक्ष्म कम्पन थाहा पाउने सेन्सर राखिएको र जमिनमा कम्पन हुने बित्तिकै गाउँमा राखिएको तारले जोडिएको साइरन बज्ने व्यवस्था मिलाइएको छ । यो यन्त्रले पहिरो जानु २४ घन्टापूर्व नै जानकारी दिने बताइएको छ । सो यन्त्र साइरन टेक्नोलोजी सेल्स प्रालिले निर्माण गरेको हो ।

पहिरोको उच्च जोखिममा केरौँजा रहेको सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रकाशित भएपछि साइरन राखिएको हो । म्यागासेसे पुरस्कार विजेता पुनको राष्ट्रिय आविष्कार केन्द्रले साइरन राख्न आग्रह गरेपछि केरौँजा पुगेर मङ्गलबार साइरन जोडिएको लक्ष्मणले बताए ।

About The Author

अन्य समाचारहरु: