२२ साउन, धादिङ – यीनी हुन् सिक्का बाबा । यीनको असली नाम रामबहादुर परियार हो । कास्कीको हेम्बा उपमहानगरपालिकामा जन्मेका उनी ६ वर्षदेखि नेपाल यात्रामा छन् । ६ वर्ष पहिले विश्वको सिक्का नेपालबाट नै संकलन गरेर गिनिज बुकमा नाम लेखाउने लक्ष्य सहित हिडेँका थिए । उनी यतिबेला भूकम्प पीडित र बाढी पीडितको राहत र उद्दारको अभियानमा लागेका छन् ।
उनले अहिलेसम्म २ सय ७ देशको सिक्का संकलन गरिसकेका छन् । ७२ औँ जिल्ला भम्रणका क्रममा धादिङ जिल्लामा आइपुगेका सिक्का बाबा ज्यानमा लगाएका कपडाभरी विभिन्न देशका सिक्का टासेर हिडिरहेका छन् ।
सुरुमा टोपीमा सिक्का टाँसेर अभियान सुरु गरेका सिक्का बाबाले अहिले टाई, पाईन्ट, सर्ट, स्टकोट लगायत सबै कपडामा सिक्का टाँसेका छन् । उनले ज्यानमा लगाएका कपडामा मात्र १५ केजी सिक्का छन् । विश्व शान्ति, संविधान र देशका दुर्गम क्षेत्रमा यातायात लगायत विकासको दवाबमुलक सन्देशका साथ उनी भम्रणमा निस्केका हुन् ।
उनी सुरुमा नेपाल प्रहरीको लागि जुत्ता सिलाउने काम गर्थे । सुरुमा नेपाल प्रहरीको लागि जुत्ता सिलाउने काम गर्ने भएकोले उनी जिल्ला भ्रमणको क्रममा सुरुमा प्रहरीकै शरणमा पुग्ने गर्छन । अविवाहित उनलाई घर परिवारको भन्दा आफ्नो अभियानको बढी चिन्ता छ ।
उनीसँग मयूरको चित्र भएको नेपालको सबैभन्दा पुरानो सिक्का पनि छ । उनीसँग भएको नेपालको सिक्कामा विसं १९२४ देखिका छन् । उनको अभियान थाहा पाएपछि विदेशबाट आउने नेपालीहरुले खोजी खोजी आफुले ल्याएको सिक्का दिने गरेको परियारले बताए ।