रामकुमार थापा / ४ भदौ, धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाकी फुलमाया थापा मगर धादिङबेसीमा डेरा लिएर बस्न थालेको १ वर्ष भयो । श्रीमान बैदेशिक रोजगारको लागी मलेसिया गएपछि सीता छोराछोरीको पढाइका लागि सदरमुकाम झरेकी हुन् ।
धादिङको धुवाँकोट गाउँ विकास समितिका ज्याङगो तामाङ पनि ३ महिना अघि गाउँ छोडेर बजार अर्थात धादिङबेसी नै झरे । छोरा बैदेशिक रोजगारमा गएपछि ज्याङगो तामाङ धादिङबेसी बजारमा कोठा लिएर बस्न थालेका हुन् ।
शहर पस्नुको कारण शिक्षा, रोजगार र पारिवारिक बेमेल
फुलमाया थापा मगर र ज्याङगो तामाङ मात्रै होइन परदेशीका परिवार धेरै शहर पस्न थालेको अध्ययनले देखाएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङ द्वारा सन्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले धुवाँकोट र साविकको नीलकण्ठ गाविसमा गरेको अध्ययनले वैदेशिक रोजगारीमा गएकाहरुका परिवार बजारमा कोठा भाडामा लिएर बस्ने क्रम बढेको देखिएको हो ।
साविकको नीलकण्ठ गाउँ विकास समितिमा ८ सय ३६ जना बैदेशिक रोजगारमा गएको मध्ये ३ सय ३१ जना धादिङबेसी बजारमा डेरा गरेर बसेका छन । यस्तै धुवाँकोट गाउँ विकास समितिबाट ७ सय २९ जना वैदेशिक रोजगारमा छन । जसमध्ये १ सय २६ जना धादिङबेसी बजारमा कोठा भाडामा लिएर बसेको अध्ययनले देखाएको छ ।
परदेशीका परिवारले गाउँमा चाहे अनुसारको सेवा सुविधा नभएकाले सुविधा खोज्दै शहर छिरेको बताएका छन । नीलकण्ठ नगरपालिकाकी फुलमाया थापा मगर र धुवाँकोटका ज्याङगो तामाङ छोराछोरी र नाति नातिनालाई बोर्डिङ पढाउन धादिङबेंसी आएका हुन् । ‘छोरा विदेश गएपछि नातिनीलाई राम्रो पढाउन म पैसा पठाउँछु भन्यो त्यही भएर डेरा लिएर भएपनि यहीँ बस्न थालें’ ज्याङगो तामाङ भन्नुहुन्छ ‘गाउँमा बोर्डिङ छैनन अनि भएका ठाउँमा पनि त्यति राम्रो पढाइ हुन्छ जस्तो लाग्दैन’ धादिङकै सुन्दरी थापाको बाध्यता पनि फरक छैन ।
आफुले पढ्न नपाएपनि छोराछोरीले राम्रो पढन पाउन अनि दुःख नपाउन भनेर धादिङबेंसीमा डेरा गरेर बस्न थालेको सुन्दरीको भनाई छ । ‘गाउँमा बस्दा परदेश गएकाहरु आफन्तले पठाएको पैसा बच्थ्यो तर के गर्नु छोराछोरी पनि आफैं जस्तो पढन नपाउने हुन कि भन्ने चिन्ता धेरै छ’ सुन्दरी भन्नुहुन्छ ‘तर के गर्नु सामुदायिक विद्यालयहरु राम्रो पढाई नै हुँदैन’ शिक्षासंगै कामको अवसर पनि परदेशीका परिवार शहर पस्नुको अर्को कारण भएको अध्ययनले देखाएको छ ।
गाउँमा बस्दा घरधन्दा बाहेक अरु केहि पनि नहुने तर शहर पसेपछि काम केहि न केहि काम गर्न पाइने भएकाले शहर पसेको गाउँबाट धादिङबेंसी आएकाहरु बताउँछन । श्रीमान बैदेशिक रोजगारमा गएपछि धादिङ चैनपुर गाउँ विकास समिति वडा नम्बर ४ की सुन्दरी थापा मगर पनि धादिङबेसी झर्नुभयो ।
मलेसिया गएका श्रीमानको कमाई नपाएपछि शुन्दरी थापा मगर धादिङकै एक चिल्ड्रेनपार्क आवासीय बोडिङमा पढाउन थालिन् । उनकी छोरी कृशु थापामगरको पढाई सँगै घरपरिवार चलाउनको लागी पनि सहज भएको छ ।
परदेशीका परिवार सुविधा खोज्दै शहर पसेपनि यसले परदेशीले कमाएर पठाउने रेमिट्यान्समा असर पर्ने चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङकी कार्यक्रम संयोजक गँगा सुवेदीले बताईन् । भन्छिन् ‘गाउँबाट शहर आएकाहरुले नुन भुटुनदेखि हरेक कुरा किनेर खानुपर्ने भएकाले विदेशबाट पठाएको पैसा घरको आवश्यकता पुरा गर्ने त्यस्तै कुराहरुमा खर्च भइरहेको देखिएको छ’ त्यसैले सिड्स धादिङले यस बारेमा जनचेतामुलक कार्यक्रम पनि चलाइरहेको छ ।
सिड्सले चलाएको सुचना तथा परामर्श केन्द्रले विदेश जाने प्रक्रिया,विदेशमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने, मनोसामाजिक परामर्श र निशुल्क सीप सिकाउने काम सँगै विदेशबाट आएको रेमिट्यान्सलाई सदुपयोग गर्ने भन्ने विषयमा चेतना फैलाउने काम गरिरहेको कार्यक्रम संयोजक सुवेदीले बताईन् ।
सचेतना कार्यक्रमका लागि गाउँ पुग्दा र गाउँ छोडेर शहर पसेकाहरुलाई भेट्दा शहर पस्नुको कारणमा पारिवारिक बेमेल पनि एउटा कारण भएको पाइएको सिड्सले जनाएको छ ।
(रामकुमार थापा सामी परियोजना अन्र्तगत चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङमा मनोपरामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । )