२० भदौ, धादिङ / सरिता श्रेष्ठ – लेहेङगा चोलीमा सजिएर बैशाखी टेक्दै जब नीलम ढुङगाना स्टेजमा उत्रिइन्, दर्शकहरु उनको नृत्य देखेर चकित भए । उनले बैशाखी छाडेर एक खुट्टाको सहारामा गीतको तालमा दर्शकलाई नचाउदै कम्मर भाँच्न थालिन् ।
तीजको अवसरमा धादिङको वैरेनीमा आइतबार आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रममा उनले उत्साहका साथ एक खुट्टाले नृत्य देखाइन् । मुहारको चम्किलो हाउभाउले दर्शकलाई आफूप्रति आर्कषित गरिन् । अनि दर्शकहरु उनको नृत्यमा रम्दै वान्स मोर नीलम वान्स मोेर भन्न थाले ।
१५ बर्षको कलिलो उमेरमै दुर्घटनामा परि आफ्नो देब्रे खुट्टा गुमाएकी उनीमा अहिले हौसला छाएको छ । उनी एक खुट्टाको सहायताले ढुक्कसँग दर्शकलाई नचाउँछिन् । समाजको आखामा बिचराकी पात्र निलम अहिले सबैको लागि प्रेरणाकि श्रोत बनेकी छन् । उनी देशका विभिन्न ठाँउमा गएर दर्शकलाई मज्जालै नचाउँछिन् ।
छोटो समयमै आफ्नो कलाकारिताको माध्यमबाट लोकप्रियता कमाउन सफल निलमले केही म्युजिक भिडीयोमा पनि अभिनय गरिसकेकी छिन् । उनले नेपाली टिपीकल र नृत्य प्रधान रोईला गीत “म त पुरुष मान्छे” मा अभिनय गरेकी छिन् । त्यस्तै राष्ट्रिय गीत, आधुनिक गीतहरुमा समते नृत्य गरेकी छिन् । २०६४ सालमा ट्रकको ठक्करबाट देब्रे खुट्टा गुमाएकी उनको नृत्य गर्नु सानै देखिको रोजाइ रहेको सुनाइन् ।