Sat. Jul 27th, 2024

स्पेनको झझल्को दिने नुवाकोटमा बुल फाईट

5

१ माघ, नुवाकोट
स्पेन फ्रान्स, पोर्तुगल मेक्सिको लगायतको देशमा बुल फाईट अर्थात् साढे जुधाई टेलिभिजनको पर्दामा बेला बेलामा देखिन्छन् । तर सोही बुल फाईटको जस्तै झझल्को दिने खेल नुवाकोटको तारुका र बेत्रावतीमा पनि वर्षैनी हुदै आएको छ । स्पेनमा हुने बुल फाईटमा एउटा निरिह प्राणिलाई धारिलो तरबार बर्साएर सकस दिएर सर्वश्रेष्ठ प्राणी मानिसले आफ्नो बर्बरता प्रर्दशन गरेर आलोचना भईरहेका बेला नुवाकोटमा भने मकर संक्रान्तिको अबसरमा सधाझै बुल फाईट प्रर्दशन गरेर हजारौले मनोरञ्जन लिए । नुवाकोटको धार्मिक तथा एतिहासिक स्थल बेत्रावती र तारुका ५ चादनीमा स्पेनको जस्तै बुल फाईटको झझल्को मेटाउने साढे जुधाई ह्र्नका लागि देश तथा विदेशबाट समेत हजारौ दर्शक आएका थिए ।

माघे संक्रान्ति भन्ने बित्तिकै देशका बिभिन्न ठाउँमा घयु चाकु, तरुल खाएर मनाईने प्रचलन रहे पनि नुवाकोटबासीले भने गोरु जुधाएर संक्रान्ति मनाए । वर्ष भरी छोराछोरीको जस्तै स्याहार र सुसार गरेर हुर्काएका गोरुधनीहरुले जुधाउनका लागि गोरु पाल्ने चलन छ । आफुले गुन्द्रुक र ढिडो खाएर वर्षभरी गोरुलाई मास खुवाएर बलियो बनाएर गोरु धनीहरुले गोरु जुधाई प्रतियोगितामा उत्रार्ने गरिन्छ । प्रतियोगितामा दर्जनौ गोरु पालक किसानले आफ्ना बहर गोरुलाई सहभागि गराउँछन् । चामल अण्डा, पोषिलो खानेकुरा खुवाएर पालिएका रहर लाग्दा बहरहरुको बुल फाईट रोमाञ्चकारी थियो । गत वर्ष धेरै संख्यामा गोरु जुधाईएको भए पनि यस वर्ष भने १६ हल गोरु जुधाईएको माघे संक्रान्ति मेला व्यववस्थापन समितीका अध्यक्ष ज्ञानबहादुर बख्रेलले जानकारी दिए ।

बुल फाईटमा दुई जना गोरु धनीले जित्ने गोरुले हार्ने गोरुलाई लैजाने पूर्व सहमति अनुसार विष्णुमान श्रेष्ठको गोरुले जिते पछि हार्ने मदन श्रेष्ठको गोरु लग्नु भएको छ । १६ हल मध्ये तीन हल गोरु बीचकोप्रतिष्पर्धा बराबरीमा टुंगिएको थियो । दुई हल गोरु मैदानमा आइ नजुधीकन फर्केको थियो । मेलामा श्याम श्रेष्ठ, पदमकान्त लामिछाने, विष्णुमान श्रेष्ठ, दिनेश दर्लामी, ज्ञानबहादुर तामाङ, हरि श्रेष्ठ, मोतिराम ढकाल, उमेश अधिकारी, दीपक विक, प्रकाश रेग्मी लगायतको गोरुले जितेको थियो । विजयी गोरुलाई २ हजार रुपैया नगद र हार्ने गोरुलाई १५ सय रुपैया सहभागिताको लागि प्रदानगरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर वखरेलले जानकारी दिनुभयो । त्यस्तै नुवाकोटको बेत्रावतीमा भएको गोरु जुधाइमा जित्ने गोरुलाई तीन हजार र हार्नेलाई पनि सहभागिताको लागि २ हजार रुपैया पुरस्कार प्रदान गरिएको आयोजक गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिनुभयो ।

बुल फाईटको प्रवद्धन गर्न भन्दै गत वर्षबाट पर्यटन मन्त्रालयले समेत सहयोग गर्दै आएको छ । बुल फाईट हेर्न नुवाकोटको तारुका आएका युवा तथा खेलकुद बिकास मन्त्रि पुरुषोतम पौडेलले गोरुहरु एक आपसमा जुधे पनि राजनितीकदलहरु एक आपसमा मिलेर अघि बढ्नुपर्ने बताए । मन्त्रि पौडेलले तारुकाको गोरु मेलाका लागि ५० हजार रुपयाँ दिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

यस वर्षको माघे संक्रान्तिमा नुवाकोट र रसुवाको सिमास्थल बेत्रावती र नुवाकोटको तारुका ५ चादनीमा २४ हल गोरु जुधाएर स्थानीय माघे संक्रान्ति मनाएका छन् । नुवाकोटको तारुकामा १६ हल र बेत्रावतीमा ८ हल गोरु जुधाईएको थियो । तारुकामा गोरु जुधाउने मेलाको ईतिहास दुई सय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् । तारुकामा बिगत १३ वर्ष अघि देखि गोरु जुधाई व्यवस्थित रुपमा सञ्चालन गर्दै आएको छ ।

यो परम्परा तारुकाको स्थानीय झिंकटी घरबाट सुरु भएको यो परम्परालाई स्थानीयले निरन्तरता दिदै आएका छन् । नेपाल र तिब्बत बिचको भोट युद्धको सन्धि भएको स्थल बेत्रावतीमा बिगत ७ वर्ष देखि नुवाकोटको बेत्रावतीमा गोरु जुधाईलाई व्यवस्थित बनाईदै बेत्रावती गोरु जुधाई मेला आयोजक समितीका तथा गोसाईकसण्ड युवा कल्बका अध्यक्ष सुरज लबटले बताए । उनका अनुसार बेत्रावतीमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झनामा हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहेको हो । माघे संक्रान्ति मेलामा गोरु जुधाई मेला हेर्नका लागि यहाँ काठमाण्डौ, धादिङ, ललितपुर लगायत बिभिन्न ठाउँबाट हजारौ दर्शकहरु आउने गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: