Sat. Jul 27th, 2024

बन्दकर्ताको ‘टार्गेट’मा पत्रकार र सभासद !

10361091_409546925866508_2091903732_n

६ माघ, काठमाडौ 

‘आयो एम्बुलेन्स, सभासद लुकेको होला, चेक गर ।’ संविधानसभा भवन नयाँ बानेश्वरलाई लक्षित गरी बिजुलीबजारमा जम्मा भएका बन्दकर्ताहरुको आदेश यस्तै थियो ।

आन्दोलनकारीहरुले बिरामी बोकेर आएका एम्बुलेन्सलाई समेत रोक्ने र चेकजाँच गर्ने काम गरेका छन् । बन्दकर्ताहरु सडकमा अराजकरुपमा प्रस्तुत हुन थालेका छन् ।

बानेश्वरस्थित संविधानसभा भवनमा सोमबार मध्यरातमा भएको वितण्डापछि मंगलबार राजधानीको सडकमा निस्किएका कार्यकर्ताहरु आक्रामक बनेका हुन् ।

बिजुलीबजारको पुल छेऊको मुख्य सडकमा सुरक्षाकर्मीको घेरा छ । तर, पुलमा रहेका बन्दकर्ताहरुले भने मोटरसाइकलमा आएकाहरुलाई कुटपिट गर्ने र मोटरसाइकल तोडफोड एवं आगजनीको श्रृंखला जारी राखेका छन् ।

प्रहरीकै अगाडि बिजुली बजार पुल नजिक माउन्टेन टेलिभिजनको भ्यान तोडफोड भएको छ । एक मोटरसाइकलमा आगो लगाएर ध्वस्त पारिएको छ भने कुटनीतिक नियोगको मोटरसाइकलसहित आधा दर्जन बढी मोटरसाइकल तोडफोड भएका छन् ।

बन्द आयोजक दलहरुले बन्दमा प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, पर्यटक, फोहर बोक्ने गाडी, दूध, तरकारी तथा अत्यावश्यक वस्तु बोक्ने गाडीलाई निर्वाध चल्न दिने भनिए पनि बन्दकर्ताहरुले आफ्नै पार्टी निर्देशनको पालना गरेको देखिँदैन ।

पत्रकारलाई समेत धम्की

सडकमा विशेष काम परेर मोटरसाइकलमा गुडेका सर्वसाधारण मात्रै होइन, बन्दको समाचार संकलन गर्न पुगेका पत्रकारलाई समेत आन्दोलनकारीको निसानामा परेका छन् ।

सर्वसाधारण चढेको गाडी तोडफोड र आगजनीको तस्वीर खिच्न लागेका पत्रकारलाई दुब्र्यवहार गर्दै फोटो खिच्ने काम आन्दोलनको नेतृत्वकर्ताबाटै भएको छ ।

एकीकृत माओवादीसहितको ३० दलीय मोर्चा, नेकपा(माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले संयुक्त रुपमा मंगलवार नेपाल बन्दको आहृवान गरेको हो ।

राष्ट्रिय झण्डाको प्रेम

बन्दकर्ताहरुको समूहमा आन्दोलनकारी दलका झण्डा मात्रै छैनन्, राष्ट्रिय झण्डासमेत फर्फराएका छन् । आन्दोलनकारी समूहको अग्रमोर्चामा देखा परेकी एकीकृत माओवादीकी नेतृ हिसिया यमीले राष्ट्रिय झण्डा अंकित पोशाक लगाएकी छन् ।
नेतृ यमीले कार्यकर्तालाई संयमित हुन आग्रह गर्नुपर्नेमा पत्रकारहरुलाई फोटो खिच्न समेत रोक लगाइन् ।
(अनलाइन खबरबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: