धादिङ
तीन जना बच्चालाई विष खुहाएको आरोप लागेका धादिङ कटुञ्जेका नरबहादुर गुरुङलाई जिल्ला अदालत धादिङले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
गत पुष ७ गते बच्चालाई विष खुहाएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरेका थिए । विष खाएका कटुञ्जे गाविस वडा नम्बर ७ का चार वर्षिय बालिका एलिना वि.क. र पाँच वर्षिय रन्जिता वि.क.को मृत्यु भएको थियो । एलिना र रन्जिता संगै विष खाएका ६ वर्षिय एलिना वि.क. घाइते भएका छन् ।
घाइते बालिका एलिनाले जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफुलाई अभियुक्त नरबहादुरले विष खुहाएको आरोप लगाएका छन् । घाइते एलिनाले दिएको बयानकै आधारमा आज जिल्ला अदालतमा पेश गरेकोमा आजै जिल्ला अदालतले अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । मुद्दामा बादीको तर्फबाट अधिवक्ता रामचन्द्र भट्ट र प्रतिवादीको तर्फबाट अधिवक्ता टंककुमार श्रेष्ठले बहस गरेका थियो ।
यो मुद्दामा प्रहरीले सत्य कुरा थाहा पाउने आधुनिक मेसिन पोलिग्राफ प्रयोग गरेको जिल्ला अदालत धादिङका श्रेस्तेदार राजेन्द्र प्रसाद वाग्लेले जानकारी दिए । जिल्ला अदालतमा दायर भएका मुद्दामा पोलिग्राफ प्रयोग गरिएको यो पहिलो पटक हो ।
त्यसैगरी गत बैशाखमा धादिङबेसी शान्तबजारका काजी शाक्यमाथी भएको आक्रमणमा ज्यान मार्ने उद्योग सन्बन्धी मुद्दा परेका कमल गुरुङ र अमृत अधिकारीलाई पनि जिल्ला अदालत धादिङले आजै पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।