अस्मिता खतिवडा / ५ मंसिर, धादिङ –
पछिल्लो समय धादिङमा रुपान्तरित विकृति अर्थात कन्भर्जन डिसअर्डरका बिरामीहरुको संख्या बढ्दो छ ।
एकिकृत साुमदायिक विकास अभियान (आई.सी.डी.सी ) धादिङले निलकण्ठ नगरपालिका सहित कटुञ्जे, महादेवस्थान, पिडा, कुम्पुर लगायत जिल्लाका विभिन्न २६ वटा गाविसमा गरेको अध्ययनले भुकम्प पछि १ सय ४८ जनामा रुपान्तरित विकृतिको समस्या रहेको देखाएको छ । मानिसको मनमा रहेका आन्तरिक पिडाहरु विभिन्न शारीरिक लक्षणका रुपमा बाहिर देखिने प्रक्रिया नै रुपान्तरित विकृति अर्थात कन्भर्जन डिसअर्डर हो । यसलाई एक किसिमको मनोसामाजिक समस्याको रुपमा लिइन्छ ।
आई.सी.डी.सी धादिङका मनोविमर्शकर्ता सरस्वती मिश्रका अनुसार विभिन्न तनाव तथा आघातका कारण व्यक्तिमा यस्तो समस्या देखापर्दछ । अत्याधिक चिन्ता, डर, असफलता, तनावपुर्ण पारिवारिक वातावरण तथा अभिभावकहरुको बेवास्ता, बाल्यकाल वा वयस्क अवस्थामा भएको शारीरिक, मानसिक, यौनदुव्र्यवहारजन्य क्रियाकलापले पनि मानिसमा रुपान्तरित विकृति देखिन सकिन्छ ।
यस्तो समस्यामा परेका मानिसहरुमा रुनेकराउने, बिस्तारै ढल्ने, उफ्रने, काम्ने, श्वास फेर्न गाह्रो हुने , हातले घांटीमा समाउने, टाउको तथा पेट दुःखेको महसुस गर्ने, सामान्यतया ५/१० मिनेट देखि २/३ घण्टा सम्म बेहोस हुने तर अर्धचेतना रहने तथा एकोहोरो हुने जस्ता लक्षणहरु देखापर्ने मिश्र बताउँछिन् । यस्तो समस्यामा परेका व्यक्ति स्वयम्को नियन्त्रणमा नहुने हुंदा नियन्त्रण गर्न खोज्दा पनि आफुलाई रोक्न सक्दैनन् ।
रुपान्तरित विकृति भएको व्यक्तिलाई एक्लै छाडिदिने तर अप्रत्यक्ष रुपमा निगरानि भन राख्नुपर्ने मनोविमर्शकर्ता सरस्वती मिश्रको भनाई छ । मिश्र भन्छिन्– “बेहोस भएको अवस्थामा आफुलाई माया तथा सहयोग गर्ने व्यक्ति नजिक रहेको महशुस यदि समस्यामा परेको व्यक्तिले गरेमा समस्या लामो समय रहने गर्दछ । रुपान्तरित विकृतिको समस्यामा परि बेहोस भएपछि जब व्यक्ति पहिलाकै अवस्थामा फर्कन्छ तब उक्त व्यक्तिसंग सामान्य कुराकानी गर्ने तर बेहोसभएको बेलामा उसले गरेका क्रियाकलापहरुको विषयामा केहिपनि कुराकानी नगर्ने साथै पहिलेको जस्तै नियमित कार्य गर्न प्रोत्साहन गर्ने गर्नुपर्छ ।
अप्रत्यक्षरुपमा रुपान्तरित विकृतिको समस्या भएको व्यक्तिहरुमा रहेका तनावहरु कुराकानीको माध्यमबाट पत्ता लगाउने प्रयास गर्नुपर्छ । तनाव सामना गर्ने सीपहरुको विषयमा छलफल गर्ने र यसका लागी मनोविमर्शकर्ता तथा मनोसामाजिक कार्यकर्ताहरुको सहयोग लिन पनि सकिन्छ । यदि रुपान्तरित विकृतिको समस्या एकैपटक धेरै व्यक्तिहरुमा देखिएमा सबैजनालाई छुट्टाछुट्टै स्थानमा राख्ने साथै अप्रत्यक्ष रुपमा मात्र निगरानी गर्नुपर्छ । ”
रुपान्तरित विकृतिको समस्या धादिङ जिल्लाका विभिन्न गाविसहरुमा केहि समय अघि देखा परेको थियो । कुम्पुर ७ मा रहेको महाकाली मा. वि., कल्लेरी ३ को सरस्वती मा. वि., धुवाकोट ४ को सरस्वती उच्च मा. वि., कटुन्जे ८ को महेन्द्रबाराहि उच्च मा. वि., निलकण्ठ नगरपालिका अन्तर्गत ससाह देउराली उच्च मा. वि., चैनपुर ८ को सुनखानी मा. वि. र नलाङ ४ को नलाङ पात्ले मा. वि. मा आई.सी.डी.सी धादिङले जनचेतनात्मक कार्यक्रम संचालन समेत गरिएको थियो ।
मानसिक समस्या भएका र मनोसामाजिक समस्यामा रहेको विरामीहरुलाई तालिम प्राप्त मनोविमर्शकर्ताहरुबाट जिल्ला अस्पताल धादिङ, गजुरी प्रथमिक केन्द्र र सल्यान्टार प्राथमिक स्वास्थ केन्द्रहरुमा निशुुल्क मनोविमर्श सेवा दिइंदै आएको संस्थाले जनाएको छ । जिल्लाको २६ वटा गाविसहरुमा जिल्ला जनस्वास्थको समन्वयमा इन्टरनेशन मेडिकल कोरको सहयोग, टि.पी.ओ नेपालको प्रविधिक सहयोग मा आई.सी.डी.सी नेपाल धादिङले माानसिक स्वास्थ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२०७३ मंसिर ५ गते प्रकाशित