Sat. Jul 27th, 2024

शौचालयमा पनि लाइन बस्छन् कारागारका बन्दी

karaghar
 १३ माघ, धादिङ

जिल्ला कारागार शाखा धादिङमा रहेका कैदी बन्दीहरु शौचालय जान समेत लाइनमा बस्न बाध्य भएका छन् ।

क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका कारण कैदीबन्दीहरु सुत्न, खान र शौचालय जान समेत लाइनमा बस्न बाध्य भएका हुन् । पुरुषको ३० जना र महिलाको ५ जनाको बन्दी क्षमता भएको जिल्ला कारागार शाखामा हाल १ सय ३७ जना पुरुष र १८ जना महिला गरि १ सय ५५ जना बन्दी कैदी राखिएको जिल्ला कारागार शाखा धादिङका सहायक जेलर मदन श्रेष्ठले बताए । बस्ने सुत्ने ठाउँ साँघुरो भएका कारण बन्दीहरुलाई सुत्न नै समस्या पर्दै आएको कारागार प्रशासनले जनाएको छ ।

पालो गरेर सुत्दा समेत ठाउँ अभावका कारण कारागार भवनको बाहिरपटीको भागमा २० जना बन्दीहरु त्रिपाल टाँगेर रात कटाउन बाध्य भएका छन् । खाना बनाएर खाने स्थानमा २५ जना र कार्यालय प्रयोजनको लागि राखिएको कोठामा ११ जना बन्दी राखिएको सहायक जेलर श्रेष्ठले जानकारी दिए ।
विहान शौचालय जान नपाएर हरेक दिन समस्या पर्ने गरेको कारागारका चौकीदार टिका तामाङले बताए ।

कारागार सानो भएका कारण खाना बनाएर खान, सुत्न र शौचालय जानका लागि धेरै समस्या रहेको पनि तामाङले गुनासो गरे । कारागार सानो छ खुट्टटा राख्ने ठाउँ छैन । खाना बनाएर खानै मिल्ने ठाउँ नै छैन । सुत्नका लागि पालो कुर्नु पर्छ । शौचालय जानका लागि त धेरै समस्या छ । यति धेरै मानिस विहान शौचालय जान नपाएर हरेक दिन समस्या पर्ने गरेको छ, तामाङले बताए । जिल्ला अदालत र प्रहरीको सक्रियतामा फैसला कार्यान्वयनमा तिक्तता आएपछि कारागारमा बन्दीको संख्यामा बृद्धि भएको कारागार प्रशासनले जनाएको छ ।

१ सय ५० जना बन्दी क्षमताको नयाँ कारागार भबन बनाउनका लागि ०६८ माघ २४ गते सम्झौता गरि ०७० असार २३ गतेभित्र काम सक्नेगरी निर्माण सुरु गरिएपनि अझै पुरा हुन सकेको छैन । खानी निर्माण सेवालाई १ करोड ९० लाख ८० हजार ९ सय ९७ रुपैयाँ १३ पैसामा ठेक्का दिइएको थियो । निर्माण कम्पनीको लापर्वाहीका कारण तीन पटक सम्म म्याद थप गरि काम गर्न समय थपिएपनि कम्पनीले काममा ढिलाइ गर्दा समयमै जिल्ला कारागार भवन निर्माण हुन सकेको छैन । ससमयमै भवन निर्माण भएको भए अहिले नयाँ भवनमा नै बन्दीहरुलाई राख्न सकिने कारागार प्रशासनको भनाइ छ ।

About The Author

Loading...

अन्य समाचारहरु: