
७ माघ, धादिङ –
धादिङको गुम्दी गाविसको वडा नम्बर ६ स्थित गुम्दी स्वास्थ्यचौकीमा मनोसामाजिक सहयोग सम्बन्धी महिला स्वास्थ्य स्वंयम सेविकाहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) नेपालको आयोजनामा अमेरिकियर्स र ईज्राएडको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । ४ दिन सम्म संञ्चालन भएको तालिममा नौ वटा वडाका ९ जना महिला स्वास्थ्य स्वयम सेविकाहरु र १ जना अनमी गरि १० जनाको सहभागीता रहेको तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक सुस्वास्थ्य, मनोसामाजिक समस्या, मानसिक समस्या, कारण र लक्षणहरु, मनोसामाजिक सहयोग, आरमदायी अभ्यास लगायतका विषयमा छलफल गरिएको थियो ।
त्यसैगरि मनोविमर्शका आधारहरु, मनोविमर्शमा गर्नहुने र गर्न नहुने कुराहरु, मनोसामाजिक समस्या भएका व्यक्तीहरुलाई समस्याबाट बाहिर निकाल्नका लागि प्रयोग गरिने सञ्चारका सिपहरु, नेपालमा रहेको मानसिक समस्याहरु, तनाव व्यवस्थापन, स्वहेरचाह, सामनाका व्यवहार लगायतका विषयमा छलफल गरिएको थियो । छलफल भएका विषयवस्तु माथि जिल्ला मनोसामाजिक प्रशिक्षक डिलबहादुर शाही, सुनिता शर्माले सहजीकरण गरेका थिए ।
गुम्दी गाविस सँगै जिल्लाको २४ ओटा गाविसमा मनोसामाजिक सहयोग सम्बन्धी तालिम सकिएको जिल्ला मनोसामाजिक प्रशिक्षक डिलबहादुर शाहीले बताए । त्यसैगरि ५ ओटा गाविसमा पुर्नताजगी तालिम पनि सम्पन्न भएको शाहीको भनाई छ । तालिम सँगै सँगै मनोसामाजिक सहयोग सम्बन्धी कचहरी नाटक पनि मञ्चन गरिदै आएको छ । भुकम्प पश्चात समुदायका मानिसहरुमा परेको मनोसामाजिक समस्यालाई कम गराउने उद्देश्य स्वरुप नाटक मञ्चन गरिएको हो ।
नाटकमा भुकम्प पश्चात मानिसमा देखिएको मनोसामाजिक असर, लक्षण, मनोसामाजिक समस्याले निम्त्याएको समस्याका विषयहरु समेटिएको थियो । दिपमाला परियारद्वारा निर्देशित कचहरी नाटकमा रेखबहादुर गुरुङ, पुनम थापा, सम्झना तामाङ, मनोज राउत र रुपा श्रेष्ठले आ–आफ्नो भुमिका प्रस्तुत गरका थिए ।
२०७३ माघ ७ गते प्रकाशित