Sat. Jul 5th, 2025

धादिङबेशीमा भुकम्पको धक्का : एउटा घर गल्र्यामगुर्लम्मै ढल्यो अर्काे जस्ताको जस्तै

2

१३ माघ, धादिङ –

चौरको बीचमा उस्तै देखिने दुईओटा घर । इट्टा र माटोको जडान गरिएका दुबै घरको छलमा पानी ट्याङ्की राखिएका थिए । एउटा घर पुरै रातो माटोले पोतिका थिए भने अर्काे घरको ठाउँ ठाउँमा सेतो तेर्साे धर्सा देखिन्थ्यो । दर्शकहरु पालैपालो दुबै घर नियाली रहेका थिए । दुई घर छिनछिनमा हल्लिन थाल्यो । पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो । जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा नदेखिएको चाही घर गल्र्यामगुर्लुमै ढल्यो ।

भुकम्प प्रतिरोधी घर निर्माणका लागि विहिबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य हो यो । अबको पुननिर्माण भुकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन अमेरीकी सहायता नियोग युएसएडको आर्थिक सहयोगमा संचालित बलियो घर कार्यक्रमअन्तर्गत निलकण्ठ नगरपालिकाको कार्यलय धादिङ, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय धादिङ तथा भुकम्प प्रविधी राष्ट्रिय समाज नेपालद्धारा  यस्तो डेमो प्रदर्शन गरिएको हो ।   जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थीसम्म प्रदर्शनी हेर्न पुगेका थिए ।

1
कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरेको थियो । कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन । फरक यक्ति थियो  नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियो कसिएको थियो, ढलेकोमा थिएन । हेर्दा उस्तै देखिएपनि घरको गारो (वाल) लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, ‘निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भुकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागि हामीले यो प्रदर्शन गरेका हौ ।’

इन्जिनियरका अनुसार घरको जग पुरा भएपछि जमिनको सतहमा पुरै गारोमा टाइबिम कस्नु पर्छ । त्यसभन्दा माथी गारोको चारै सुरमा कुना बन्धन र झ्यालभन्दा तल गारोको बीचमा शिलबन्धन कस्नुपर्छ । झ्याल राखिसकेपछि गारोको वारपार लिण्डलले  कस्नुपर्छ । इन्जिनियर भण्डारीले भत्किएको र नभत्किएको घर देखाउँदै बिम र बन्धन राख्ने तरिका सिकाए ।   भुकम्प प्रतिरोधी घर कस्तो हुनुपर्छ भन्नेबारे सुनेर मात्रै जानेकाहरुलाई बिम र बन्धन कसेको र नकसेको घरमा कुन बलियो हुन्छ भन्ने कुरा बुझाउन यस्ता प्रदर्शनीले सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । भूकम्प प्रविधी राष्ट्रिय समाजद्वारा निर्माण गरिएका कच्ची र पक्की नमुन घरहरु राखेर गरिएको कम्पन मञ्च प्रदर्शनीमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले सरकारबाट पहिलो किस्ता लिन हतार गर्ने र पुनर्निर्माणमा भएको ढिलाई बारे अनुगमन र समिक्षा हुन जरुरी भएको बताए ।

3
जिल्लामा सम्झौता गरेका करिव ७४ हजार घरधुरीहरु मध्य ५५ हजार लाभग्राहीले दशैं अगावै पहिलो किस्ता लिई सकेको भए पनि ३३ सयले घर निर्माण गरिरहेका छन् भने ३ हजार घरधुरी निर्माणाधिन रहेको जिल्ला दैवी प्रकाप उद्धार समितिले जनाएको छ । भुकम्पले उठिबास नै भएकाहरुले मात्रै पहिलो किस्ता लिनेवित्तिकै निर्माणको काम थालेकोले पुननिर्माणमा ढिलाई भएकोले पुननिर्माणलाई गतिशिल बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

भुकम्पले हल्लाउदा घर कसरी ढल्छ भन्ने कुरा सुनेर मात्रै बुझेकाहरुले कमजोर घर प्रत्यक्ष ढलेको र बिम र बन्धन कसेको घर जस्ताको जस्तै अढिएको देखेपछि अबको घर निर्माण भुकम्प प्रतिरोधी नै बनाउनुपर्ने डेमो हेर्न आएका अधिकांशले प्रतिक्रिया दिएका थिए । यस्तो चेतनामुलक डेमो प्रदर्शनी गाउँ गाउँमा गएर देखाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

२०७३ माघ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: